Skip to content
Prabhu

सवारी साधनको कुम्भ मेला ‘नाडा अटो शो’, अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने व्यवसायीको विश्वास

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आज मंगलबारदेखि सवारी साधनको कुम्भ मेलाका रुपमा रहेको ‘नाडा अटो शो’ २०२४ सुरु भएको छ । ६ दिनसम्म चल्ने शोमा विभिन्न कम्पनीका विभिन्न मोडलका सवारी साधनको प्रदर्शनी हुने छ । १६औं संस्करणको नाडा आटो शोले अर्थतन्त्रलाई चलायमान बनाउने उद्योगी व्यवसायीहरुको विश्वास छ ।

६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने मेलामा दुईपांग्रे र चारपांग्रे सवारीको अवलोकन तथा बिक्री वितरण पनि गरिने छ । यो मेलाले नेपाली बजारमा आएका नयाँ नयाँ सवारी साधन र तीनका फिचरका विषयमा जानकारी लिन सक्ने छन् । नेपालमा बिक्री हुने सबै ब्राण्डका सावरीको स्टल रहने भएकाले उपभोक्ताले पनि एकै ठाउँबाट सबै ब्रान्ड र कम्पनीका सवारीका विषमा जानकारी लिन सक्नेछन् ।

दशैँ–तिहार जस्ता ठूला चार्डपर्वलाई लक्षित गरेर आयोजना गरेको मेलाले देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उद्योगी व्यवसायीहरुको भनाइ । आर्थिक शिथिलताको समयमा हुने यस्ता कार्यक्रमहरुले व्यवसायीलाई मात्रै नभएर समग्र राज्यलाई नै सहयोग पुग्ने उनीहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो मोबाइल क्षेत्रको यो मेलाले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने बताए । सरकारले लिएको नीतिमा केही परिवर्तन गर्न सकेको खण्डमा अटो मोबाइल क्षेत्रले रोजगारी सिर्जना र राजश्वमा उल्लेख्य योगदान गर्न सक्ने उनको भनाइ थियो ।

‘सरकार, सरकारी नीतिमा स्थायित्व कायम भएको खण्डमा यो क्षेत्र मात्रै नभएर समग्र निजी क्षेत्र नै चलायमान बन्छ,’ उनले भने । यसका लागि सरकारले पनि व्यवसाय मैत्री वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, नेपाल चेम्बर अफ कर्मर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पनि नाडा अटो शोले अर्थतन्त्रलाई चलायमान बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सरकारले सवारी साधानको करकादरहरु कम गरेर सवारी साधनको व्यापारको दायर बढाउनुपर्ने उनको भनाइ थियो । ‘अहिले पुँजी बजारमा सुधार देखिएको छ । त्यस्तै अन्य क्षेत्रलाई पनि सरकारले चलायमान बनाउन सकेको खण्डमा निजी क्षेत्र थप लगानीका लागि उत्साहीत हुन्छ,’ उनले भने, ‘निजी क्षेत्रले लगानी गर्दा राजश्वमा वृद्धि हुन्छ । राजश्व बढ्नु भनेको राज्यको अर्थतन्त्रमा योगदान हुनु हो ।’

अहिले विद्युतिय सावरी साधनको आयात बढेको अवस्थामा त्यसको पूर्वाधार तर्फ पनि राज्यले ध्यान दिनु पर्ने उनले बताए । सरकारले चार्जिङ स्टेसन निर्माणका लागि पनि निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने उनको भनाइ ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले अर्थतन्त्र अझै पनि सुधार हुन नसकेको भन्दै सरकारको स्थिर नीति र यस्ता मेलाहरुले अर्थतन्त्र सुधारमा योगदान दिने बताए । ‘पछिल्लो समय अर्थतन्त्र केही चलायमान भएको जस्तो देखिएको छ । तर, पूर्ण रुपमा अर्थतन्त्र चलायमान बन्न सकेको छैन,’ उनले भने । सकारले पनि अर्थतन्त्रलाई शिथिलताबाट बाहिर ल्याउनका लागि ठोस काम गर्नुपर्ने उनले बताए ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अटो शोे व्यवसायीहरुका लागि दशैंभन्दा पनि महत्वपूर्ण भएको बताए । सम्पूर्ण अर्थतन्त्रलाई नै नाडाले नेतृत्व गर्न सक्ने भन्दै यस्ता कार्यक्रमले अर्थतन्त्रको सुस्ततामा सुधार आउने उनको विश्वास थियो ।

सरकारले अटो क्षेत्रलाई व्यवास्था गरेको गुनासो गरेका उनले यही अवस्था रहेमा नेपालमा नाडा भन्ने पनि थियो भन्ने एका देशको काहानी हुने बताए । ‘अहिले अटो क्षेत्र निकै असहज अवस्थामा छ । सरकारले पनि हाम्रा विषयमा खासै चासो दिएको छैन । तर, व्यवसायीहरु यो अटो शोबाट फेरि उठ्ने विश्वासमा छन्,’ उनले भने, ‘मौद्रिक नीतिले अटो क्षेत्रलाई पूरै व्यवस्था गरेको देखिएको । यसबाट हामीलाई राज्यले कुन रुपमा हेरेको छ भन्ने प्रष्ट छ ।’

१ लाख जनालाई प्रत्यक्ष रोजगारी दिएको क्षेत्रलाई सरकारले महत्व दिनुुपर्ने उनको माग छ । सरकारले लिएका विगतका नीतिले गर्दा अटो क्षेत्रका व्यवसायीहरुलाई निकै टाढा धकेलिसेको उनको भनाइ छ । सवारी साधनलाई अहिले पनि विलाशीतको साधनमा राखिएको छ । तर, यो अत्यावश्यक भइसकेको छ । त्यसैले समय सान्दर्भिक रूपमा नीति परिवर्तन गर्नुपर्छ,’ उलने भने ।

कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीले उठाएका कुरालाई सरकारले गम्भीरताका साथ लिएको बताए । ‘यो सरकार व्यवसायीको पक्षमा छ । ढुक्क भएर लगानी गर्नुहोस् सरकारले स्वातग गर्छ,’ उनले भने । अहिले अर्थतन्त्र पूर्णरूपमा सुधार भएको अवस्था नभए पनि विस्तारै सुधार हुने चरणमा रहेको उनको भनाइ छ ।

‘विगतका कुराबाट त्रसित नहुनुहोस् । अहिलेको सरकार व्यवसायीहरुलाई सक्दो सहयोग गर्छ,’ उनले भने । नेपालको संसदीय अभ्यासबाट अहिलेको जस्तो स्थिर र बलियो सरकार कहिले बन्न नसक्ने भन्दै समय सान्दर्भिक रूपमा नीतिहरु परिमार्जन गर्नका लागि सरकार तयार रहेको उनको दाबी छ ।

प्रदर्शनीलाई चारपांग्रे, दुईपांग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ । प्रदर्शनीमा २४ चार पांग्रे ब्रान्डहरू, १९ दुईपांग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनीमा राखिएको छ ।

यसका साथै ३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने छन् । त्यस्तै, ७ वित्तीय संस्थाहरूले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्ने छन् । शोमा १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्ने छन् ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ६ दिनको अवधिमा ७५ हजार अबलोकनकर्ताहरु आउने अपेक्षा गरेको छ । यो शोमा १५ देखि २० अर्ब रुपैयाँसम्मको कारोबार हुने अपेक्षा आयोजकको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal