Skip to content
Prabhu

आलुले बजार पाउन थालेपछि उत्साहित छन् जुगलका किसान

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उत्पादन भएको आलुले काठमाडौँमा बजार पाउन थालेपछि किसान उत्साहित भएका छन् । हिमाली क्षेत्र भएका कारण अन्य बालीको उब्जनी राम्रो नहुने र आलु खेतीको सम्भावना प्रचुर रहेका कारण गत वर्षबाट किसान आलु खेतीतर्फ आकर्षित भएका थिए । उत्पादन पनि बढे पछि किसानहरु थप उत्साहित भएका हुन् ।

जुगल गाउँपालिका–६, स्याउजेका देवीबहादुर श्रेष्ठले झण्डै यहाँबाट तीन टन आलु बिक्री वितरणका लागि काठमाडौं पु¥याइएको बताए । उनले स्थानीय जनप्रतिनिधिले सहजीकरण गरेपछि यसअघि घरायसी प्रयोगका लागि मात्र उत्पादन गर्दै आएका किसानले आलुको व्यावसायिक खेती गर्न थालेका जानकारी दिए । आलु उत्पादक किसान वसन्त श्रेष्ठले पालिकाको वडा नं ६ कार्यालयले व्यावसायिक आलुखेती गर्न हौसला दिँदै बजार व्यवस्थापनमा सहजीकरण गरेपछि आफूहरू यसतर्फ आकर्षित भएको बताए ।

यसअघि यहाँका किसानले निर्वाहका लागि मात्र आलुखेती गर्दै आएकामा पछिल्लो समय धेरैले व्यावसायिक रूपमा खेती गर्न थालेका वडाध्यक्ष टंक तामाङले बताए । उनले वडा कार्यालयले यहाँ उत्पादित आलु काठमाडौं उपत्यकासम्म निःशुल्क ढुवानीको व्यवस्था मिलाएको जानकारी दिए । वडाध्यक्ष तामाङकानुसार चालु आर्थिक वडा न ६ मा मात्र करिब १२ टन आलु उत्पादन भएको छ । बर्खा मासमा गाउँसम्म गाडी नजाने हुँदा बर्खाअघि नै आलु ढुवानीलाई लक्षित गरी बाटो सोलिङ र स्तरोन्नति गरेको उनले जानकारी दिए । वडालाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै विषादीरहित अर्गानिक उत्पादनमा स्थानीयलाई जोडने र आर्थिक उपार्जनमा टेवा पु¥याउने कार्यालयको योजना रहेको अध्यक्ष तामाङ बताए । ‘आलु मात्र होइन विषादीरहित, प्राङ्गारिक मलको प्रयोग गरेर रैथाने बाली र तरकारी उत्पादनका लागि किसानलाई प्रोत्साहित गरिरहेका छौँ’, उनले भने ।

गाउँपालिका अध्यक्ष रेशमा स्याङ्वोले आलु उत्पादनले स्थानीयको आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । जुगलको मुख्य बजार ढाडेमा कृषिउपज संकलन केन्द्र निर्माण भइरहेको जानकारी दिँदै उनले केन्द्र निर्माणपछि किसानलाई थप राहत पुग्ने विश्वास व्यक्त गरे । मुडेको आलु जेठलको सिलढुङ्गामा संकलन गरेर प्याकिङ र ट्यागिङ सकेर मात्रै राजधानी ढुवानी गर्ने गरिएको छ । लामोसाँघु जिरी सडकखण्ड निर्माणका क्रममा स्वीस सरकारले दुर्लभ मानिने रोजिटा जातको आलुको बीउ बाँडेपछि खेती सुरु भएको स्थानीय बताउँछन् ।

जिल्लाका विभिन्न स्थानमा पनि मुडेको आलुको माग उच्च हुँदै गएको छ । राजधानीबाहेक बाह्रबिसे, लामोसाँघु, खाडीचौरदेखि दोलालघाटमा राम्रो मूल्यमा यो आलु बिक्ने गरिएको स्थानीय किसान खडगबहादुर श्रेष्ठले बताए । ‘आलु बेचेरै वर्षको दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको छु’, उनले भने, ‘पाँच हजार धार्नी आलु यस वर्ष फल्यो, अघिल्लोे वर्षको तुलनामा अहिले राम्रै कमाइयो । आलु बेचेरै घरबार चलाइरहेको छु ।’
मुडे र निगालेको एक टोलमा नै तीन हजार धार्नी आलु उत्पादन हुने गरेको छ । यी दुई गाउँबाट मात्रै झन्डै १० लाख किलो आलु उत्पादन भएको श्रेष्ठको भनाइ छ । ‘यस क्षेत्रका आठ सय परिवार आलु खेतीबाट परिवार धानिरहेका छन् । एक परिवारले आलुबाटै वार्षिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्छन’, उनले भने ।

आलुका लागि उर्वरभूमि मानिएको जेठलका झन्डै ९५ प्रतिशत घरधुरी आलुको व्यावसायिक खेतीमा होमिएका छन् । सहकारी र स्थानीय ठेकेदारमार्फत यस क्षेत्रको आलु निर्यात हुने गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal