Skip to content
Prabhu

बेरोजगारले रोजगारी पाएकोमा खुसी छु : मन्त्री भण्डारी

विराटनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारले रोजगार पाइरहेकामा खुसी व्यक्त गरेका छन् । विराटनगरमा आयोजित दुई दिने कोशी प्रदेशस्तरीय प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री भण्डारीले स्वरोजगार कार्यक्रमले रोजगारदाता र रोजगारी खोजी गर्नेबीच पुलको काम गर्ने तथा यसको माध्यमबाट दक्ष जनशक्तिलाई रोजगारमा पठाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘बजारमा आवश्यक पर्ने जनशक्तिको खोजी र रोजगारदाताबीच पुलको काम गर्ने यो कार्यक्रमबाट मुलुकका धेरै बेरोजगार नागरिकले रोजगारी पाएका छन् । यसको थप प्रभावकारिताका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ’, उनले भने ।

मन्त्री भण्डारीले सुनसरीको दुहबी नगरपालिका, इटहरी नगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा सञ्चालित श्रम सञ्चार पोर्टलका बारेमा जानकारीसमेत लिएका थिए । त्यस अवसरमा उनले कोशी प्रदेशमा पहिलो चरणमा ४६ पालिकामा सञ्चार पोर्टल लागू गर्ने र पछि प्रदेशका एक सय ३७ वटै पालिकामा श्रम सञ्चार सुरू हुने बताए । ‘यस प्रणालीबाट रोजगारदाता र रोजगारको खोजीमा रहेका युवायुवतीलाई कामको अवसर मिल्ने विश्वास लिएका छौँ । यस प्रणालीलाई चुस्त र दुरुस्त राखी बढीभन्दा बढी लाभ लिने अवस्था बनाउनुहोला’, मन्त्री भण्डारीको निर्देशन थियो ।

यसका साथै विराटनगरमा निर्माणाधीन श्रम कार्यालयको पनि मन्त्री भण्डारीले निरीक्षण एवं अनुगमन गर्नुभएको कार्यालय प्रमुख पुष्प कटुवालले जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री रोजगार राष्ट्रिय कार्यक्रमका निर्देशक डण्डुराज घिमिरेको पनि उपस्थिति रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal