Skip to content
Prabhu

सेयर बजारमा कारोबारमा ८ दिनमा १७ अर्बको कमी, कहाँ हरायो ३० अर्ब पुग्नै लागेको रकम ?  

काठमाडौं । केही समय अघि सेयर बजारमा कारोबार रकम ३० अर्ब नजिक पुगेको थियो । प्रत्येक दिन जसो कारोबार रकममा नयाँ रेकर्डहरू बनिरहेका थिए । सेयर बजार परिसूचक पनि ३००० विन्दु पार गरेको अवस्था थियो ।
कारोबार रकम अहिलेसम्मकै उच्च र नेप्से पनि उच्च विन्दु नजिक देखिएको अवस्थामा पछिल्ला केही दिनहरूमा परिसूचक र कारोबार रकममा समेत कमी आउन थालेको छ ।
साउन ३१ गते सेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँको कारोबार भएको थियो । त्यो उच्च विन्दुको कारोबार हुनु भन्दा अघि पनि हरेक दिन जसो बजारमा कारोबार रकमले नयाँ नयाँ कीर्तिमानहरू बनाउँदै आएको थियो ।
परिसूचकमा केही करेक्सन हुँदा पनि कारोबार रकममा भने उत्साह नै देखिएको थियो । २०/२२ अर्बको हाराहारीमा कारोबार हुने गरेको थियो । तर, पछिल्ला दिनहरूमा भने सेयर बजारमा कारोबार रकम पनि उच्च रूपमा घट्दै गएको छ । पछिल्लो १५ दिनको अवधिमा सेयर बजारको कारोबार रकममा १७ अर्ब भन्दा बढीको कमी आएको छ ।

साउन ३१ गते अहिलेसम्मकै उच्च कारोबार भएको दिन २९ अर्ब ९५ करोड भन्दा बढीको कारोबार भएको थियो भने आज (बिहीबार) सेयर बजारमा जम्मा १२ अर्ब २४ करोड भन्दा केही बढीको मात्रै कारोबार भइरहेको छ ।

सेयर कारोबार रकमले उच्च विन्दु कायम भएको पछिको ८ कारोबार दिन सेयर बजारमा १७ अर्ब भन्दा बढीको कमी आएको देखिन्छ । यसरी हेर्दा दैनिक कारोबार दिनको हिसाब गर्दा सेयर बजारमा औसतमा करिब २ अर्ब रुपैयाँले कारोबार रकममा कमी आएको देखिन्छ ।
कारोबार रकमसँगै सेयर बजार परिसूचकमा पनि उल्लेख्य कमी आएको थियो । साउन ३१ गतेको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३००० दशमलव ८१ विन्दु पुगेको थियो । आज (बिहीबार) को कारोबार बन्द हुँदा परिसूचक २७४९ दशमलव ५७ विन्दुमा पुगेको छ । पछिल्लो ८ कारोबार दिनमा परिसूचक २५१ दशमलव २४ अंकले घटेको छ ।
सेयर बजार घटबढ हुने हुन स्वाभाविक भए पनि ह्वातै बढेर ह्वातै घटेकाले लगानीकर्ता द्विविधामा परेका छन् । सेयर बजारमा करेक्सनको आवश्यकता भए पनि एकै पटक ठुलो अंकको गिरावट आउँदा केही दुबिधा देखिएको नेपाल धितोपत्र दलाल संघ अध्यक्ष धर्मराज सापकोटाले बताए । ‘सेयर बजार लगातार रूपमा बढेको र यसमा करेक्सनको आवाज उठेको नै थियो । तर, अहिले एकै पटक घट्दा आम रूपमा सेयर बजार पहिलेकै अवस्थामा पुग्छ कि भन्ने अवस्था देखिएको छ,’ उनले भने ।
सेयर बजारका लागि आवश्यक पर्ने सबै सूचकहरू सकारात्मक देखिएकाले सेयर बजार पहिलेको अवस्था पुग्ने अवस्था आफूले नदेखेको उनको भनाइ छ । आधार विहीन टेड्ररहरु आत्तिएका कारण अहिले कारोबार रकममा गिरावट आएको उनको भनाइ छ । ‘सेयर बजारमा आएका टेड्ररहरु आत्तिएका कारण अहिलेको अवस्था आएको हो । अहिलेका सूचक हेर्दा समग्रमा बजार बढ्ने नै देखिन्छ,’ उनले लगानी न्यूजसँग भने ।
पछिल्लो समय राजनीतिक अस्थिरताको हल्ला सुनिएको र त्यसले पनि बजारलाई प्रभाव पारेको हुन सक्ने अध्यक्ष सापकोटाको भनाइ छ । ‘राजनीतिक स्थिरताको कुरा हल्ला मात्रै हो भने सेयर बजार घट्ने कुनै सम्भावना देखिँदैन, उनले भने, ‘बजार एकोहोरे बढेको समयमा सबैले करेक्सन खोजिरहेका थिए । करेक्सन आउँदा खेरी अनिश्चितताले घटेको अवस्था छ ।’ हल्लाकै प्रतिक्रिया स्वरूप बजार घटेको हुन सक्ने उनले बताए ।
त्यस्तै बजारमा इन्भेष्टर भन्दा टेड्रर  हाबी भएकाले पनि बजार घटेको हुन सक्ने उनको भनाइ छ ।  जसले गर्दा उनीहरू बढी आत्तिएका कारण पनि बजारमा अस्थिरता देखिएको अध्यक्ष सापकोटाको भनाइ छ । ‘आफ्नो व्यापकभन्दा बढीको कारोबार भएकाहरू आत्तिने र मात्तिने कारणले गर्दा बजारमा ठुलो गिरावट आएको हुन सक्छ । करेक्सन आउँदा त्यस्ता टेड्ररहरु बढी आत्तिएको जस्तो लाग्छ,’ उनले भने ।
सेयर बजार निकै घट्छ भनेर आत्तिनु पर्ने अवस्था नरहेको उनले बताए । बजार निश्चित रूपमा बढ्ने नै अवस्था देखिएको उनको भनाइ छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal