Skip to content
Prabhu

नेप्सेमा सूचीकृत होटलमध्ये तारागाउँ रिजेन्सीको सेयर मूल्य सबैभन्दा बढी, सोल्टीको कम

काठमाडौं । गत आर्थिक वर्षको अन्तिमसम्मको विवरण अनुसार नेप्सेका सूचीकृत होटलहरुमध्ये सबैभन्दा धेरै नाफा गरेको सोल्टी होटलको सेयर मूल्य सबैभन्दा कम रहेको छ । भदौ १३ गते (बिहीबार) को कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ५६१ रुपैयाँ रहेको छ । जुन नेप्सेमा सूचीकृत भएका होटल तथा पर्यटन समूहका ६ कम्पनीमा सबैभन्दा कम सेयर मूल्य हो ।

नेप्सेमा सूचीकृत भएका यी ६ कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार सोल्टी होटलले सबैभन्दा बढी ६० करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.३१ प्रतिशतले धेरै हो ।

धेरै नाफा कमाएको यो होटलको नेप्सेको दोस्रो बजारमा पछिल्लो एक महिनाको अवधिमा सेयर मूल्य ४८ रुपैयाँले बढेको देखिन्छ । साउन १५ गते ५१२ रुपैयाँ रहेको यो होटलको प्रतिकित्ता सेयर मूल्य भदौ १३ गते बिहीबारको कारोबार बन्द हुँदा ५६१ रुपैयाँमा कारोबार बन्द भएको छ ।

बिहीबारको कारोबार बन्द हुँदा सेयर बजारमा होटल तथा पर्यटन समूहको तारागाउँ रिजेन्सि होटलको सेयर मूल्य सबैभन्दा बढी रहेको छ । यो कम्पनीको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १ हजार ३५१ रुपैयाँ रहेको छ । यो कम्पनीको सेयर मूल्य पछिल्लो एक महिनाको अवधिमा ३११ रुपैयाँले बढेको छ ।

साउन १५ गते १ हजार ३९ रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य बिहीबार (भदौ १३ गते) को कारोबार बन्द हुँदा १ हजार ३५१ रुपैयाँ पुगेको छ । गत आवको अन्त्यसम्ममा तारागाउँ रिजेन्सीको नाफा ५१ करोड ८२ लाख रुपैयाँ रहेको छ । यो होटलहरुमा धेरै नाफा कमाउने दोस्रो नम्बरमा रहेको छ ।

गत आर्थिक वर्षको विवरणअनुसार नेप्सेका सूचीकृत भएको चन्द्रागिरि हिल्सले २२ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आम सर्वसाधारणका लागि आईपीओ जारी गर्दा देखिनै चर्चामा रहेको यो कम्पनीको सेयर मूल्य पछिल्लो एक महिनामा ८६ रुपैयाँले घटेको छ । साउन १५ गते १ हजार १८६ रुपैयाँमा दोस्रो बजारमा कारोबार भएको यो कम्पनीको सेयर मूल्य भदौ १३ गतेको कारोबार बन्द हुँदा १ हजार रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै गत आर्थिक वर्षका १२ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको ओरियन्टल होटलको सेयर मूल्य १८४ रुपैयाँले बढेको छ । यो स्टकको सेयर मूल्य साउन १५ गते ९४० रुपैयाँ रहेको थियो भने भदौ १३ गतेको कारोबार बन्द हुँदा १ हजार १२४ रुपैयाँ पुगेको छ ।

त्यस्तै गत आवमा घाटामा रहेको सीटी होटलको दोस्रो बजारमा सेयर मूल्य प्रतिकित्ता ८८८ रुपैयाँ रहेको छ । यो भदौ १३ गतेको कारोबार बन्द हुँदाको हो । यो कम्पनीको सेयर मूल्य पनि पछिल्लो एक महिनामा ८९ रुपैयाँले बढेको छ । साउन १५ गते ७९९ रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य भदौ १३ गते ८८८ रुपैयाँमा कारोबार बन्द भएको थियो । गत आवको विवरणअनुसार सिटी होटल २० करोड ४७ लाख रुपैयाँले घाटामा रहेको छ ।

पछिल्लो एक महिनाको अवधिमा कालिन्चोक दर्शनको सेयर मूल्यमा १९२ रुपैयाँको गिरवाट आएको छ । साउन १५ गते १ हजार २७५ रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य भदौ १३ गते १ हजार ८३ रुपैयाँमा कारोबार बन्द भएको छ । कालिन्चोक दर्शनले गत आवको अन्तिमसम्ममा २ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal