Skip to content
Prabhu

पर्यटनमन्त्री पाण्डेद्वारा गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको बताएका छन् ।

भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षणपछि सञ्चारकर्मीसँग मन्त्री पाण्डेले सरकारले विमानस्थल सञ्चालनका लागि कार्ययोजना बनाएर अगाडि बढेको समेत बताए । उनले विमानस्थल सञ्चालनका लागि सरकारले सेवा शुल्कमा छुटसहित हवाई कम्पनीलाई आर्कषित गराउन खोजेको बताए ।

‘अध्यागमन, श्रमलगायत अत्यावश्यक सेवाहरू भैरहवाबाटै सुरू गर्ने निर्णय गरेका छौँ । बुद्वजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको विमानस्थलमा नियमित उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेको छ’, मन्त्री पाण्डेले भने ।

यसअघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा उनले विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने बताएका थिए। यसका लागि स्थानीयस्तरमा गर्नुपर्ने आवश्यक काम गर्न कर्मचारीलाई निर्देशन दिएका थिए।

त्यस अवसरमा मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि वातावरण बन्दै गएको भन्नुहुँदै अब बुद्धजन्मस्थल आएको अनुभूति हुने गरी सौन्दर्यकरणमा लाग्न आग्रह गरे । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भएको जानकारी दिए । उनले विमानस्थल नेपालको पूर्वमा चितवनदेखि सुदूरपश्चिमसम्मका यात्रुका लागि उपयुक्त ठाउँमा रहेकाले यसबाट धेरैले लाभ लिन सक्ने बताए ।

उहाँकानुसार सन् २०२२ मा ३१ हजार यात्रुले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेकामा सन् २०२३ मा चार हजार र सन् २०२४ को जुलाइसम्म नौ सय २३ जनाले मात्रै उडान भरेका छन् । मन्त्री पाण्डेसहितको टोलीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गरेका थिए। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिदा निजी क्षेत्रको अर्बौं लगानी जोखिममा परेको बारे त्यहाँ गुनासो गरिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal