Skip to content
Prabhu

अल्लोको कपडा उद्योगबाट चार जनालाई रोजगारी दिइरहेका कुलुङ दम्पती

चितवन । संखुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिजविशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त छन् । आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैँले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरु संखुवासभाबाट चितवन आएका हुन् ।

चितवन उद्योग संघ महिला उद्यमी मञ्चको निमन्त्रणा पाएपछि आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुका साथै चितवन पनि घुम्न पाइन्छ भनेर मनकला कुलुङ र उनका श्रीमान् देवेन्द्र कुलुङले यहाँ आउने निधो गरेको सुनाए । ‘हाम्रो खाँदबारीमा अल्लो व्यवसायी संघ छ । यहाँबाट निमन्त्रण गएको रहेछ । यसपालि हामी आउने निर्णय भयो, त्यहीअनुरुप आएका हौँ । पहिलोपटक चितवन आएर आफ्नो उत्पादन प्रदर्शन गरी बेच्न पाउँदा निकै खुसी लागेको छ,’ मनकलाले भनिन् ।

संखुवासभाको सिलिचोङ गाउँपालिका पाङसिम्मा स्थायी घर भएका कुलुङ परिवारको अहिले संखुवासभास्थित खाँदबारी नगरपालिका–७ नयाँबजारमा अल्लोको कपडा बनाउने उद्योग छ । मनकलाले सानै उमेरदेखि अल्लोको कपडा बुन्ने काम गर्दै आएकी थिइन् । त्यसैको जगमा उनी आज एक व्यवसायी बन्न सफल समेत भएकी छिन् । ‘म सानो छँदा मेरो दिदीले गाउँमै अल्लोको कपडा बनाउने गर्नुहुन्थ्यो, त्यहीँ बेला दिदीसँग मैले पनि यो बुन्न सिकेकी थिएँ । पछि विवाह भयो । अनि यसैमा काम गर्न थाले,’ उनले भनिन् ।

पहिले मनकलाले गाउँमै रहेका साना उद्योगमा काम गर्दै आएकी थिइन् । श्रीमान् देवेन्द्र पनि गाउँमै जडीबुटीलगायत काम गर्थे । जब उनीहरुको सन्तानको जन्म भयो तब गाउँको कमाइले घर चल्न र बच्चा पढाउन पुग्लाजस्तो लागेन । गाउँमा बच्चा पढाउने विद्यालयको असुविधाका कारण उनीहरु सदरमुकाम खाँदबारीतर्फ लागे ।

सदरमुकाम आएर जेनतेन यही काम अरूको उद्योगमा गर्दै आएकी मनकलालाई आफैँ व्यवसायी बनेर उद्योग खोल्ने मन भयो । त्यसो त उक्त निर्णयमा उनका श्रीमानको साथ र आफन्तको सहयोग पनि रह्यो । अनि सुरु भयो, ‘हिमाली अल्लो तथा सुती कपडा उद्योग’ । कुलुङ दम्पतीसँग उद्योगमा सुरुमा धेरै लगानी गर्ने पैसा थिएन । सरसापट र आफूहरूसँग भएको अलिअलि गरी रु एक लाखजति लगानी गरेर सानो उद्योग दर्ता गरेर काम सुरु गरेको मनकला बताउछिन् । ‘कच्चा पदार्थ गाउँमै पाइन्छ । नपुग भएमा छिमेकी जिल्ला सोलुखुम्बुबाट पनि ल्याउँछौँ, अहिले व्यापार राम्रै चलेको छ,’ उनले भनिन् ।

अल्लो एक प्रकारको सिस्नोको प्रजाति हो । यो विशेष गरेर मङ्सिर र पुसमा टिप्ने गरिन्छ । सुरुमा जङ्गलमा गएर अल्लो काटिन्छ । त्यसपछि बोक्रा निकालेर सुकाउने काम हुन्छ । सुकेका बोक्रा फेरि पानीमा भिजाएर खरानीसँग पकाउने काम हुन्छ । खरानीमा पकाएको अल्लोलाई बोक्राको कालो जानेगरी धोएर कमेरो माटोमा घोलेर सुकाउने गरिन्छ । कमेरो पखालेपछि अल्लोको धागो तयार हुन्छ । धागोबाट उद्योगमा विभिन्न प्रकारका चाहेअनुसारका कपडा तयार गरिन्छ ।

कुलुङ दम्पतीलाई उत्पादन गरेका कपडाको बजार खोज्दै हिँड्न पर्देन । उद्योगबाट महिनाको २०० मिटर कपडा तयार गर्ने गरेको उनीहरुको भनाइ छ । उत्पादीत अल्लोको कपडाको बजार इलाम, ताप्लेजुङ, बिराटनगर, धरान र काठमाडौं हो । ‘फोन गरेर अर्डर गर्नुहुन्छ त्यही अनुसार हामिले कपडा पठाउँछौं बिक्री गर्नका लागि कुनै समस्या छैन,’ मनकलालो सुनाइन् ।

कुनैबेला आफैँ कामदार रहेकी मनकलाको उद्योगमा अहिले चार कर्मचारी छन् । सिजनको बेलामा अन्य कामदार थप्ने गरेको उनी बताउछिन् । अल्लोको कपडाको खास सिजन असोजदेखि वैशाखसम्म हो । आफू कामदार हुँदा र व्यवसायी हुँदा आकाश–जमिन फरक पाएको मनकलाले सुनाइन् । ‘आफ्नो काम गरेको हिसाब हुँदैन जतिबेरसम्म गरे पनि आफ्नै हो, फाइदा आफैँलाई हो,’ उनले भनिन् । श्रीमानकोे निरन्तर साथ र सहयोग तथा आफ्नो खटाइले आज यो स्थानसम्म आइपुगेको मनकलाले बताइन् ।

देवेन्द्रले मनकलाको सीप र जाँगरलाई आफूले हौसला थप्ने काममात्र गरेको बताउँछन् । ‘सबै योजना उनकै (मनकला) हो । मैले सहयोग मात्रै गछु,’ उलने भने । उद्योगबाट ठूलो सपना नबोकका कुलुङ दम्पतीलाई यतिबेला छोराछोरीको भविष्य राम्रो बनाउने ध्याउन्न छ । उनीहरुका एक छोरी खाँदबारीमै प्राविधिक विषयमा अध्ययनरत छिन् भने छोरा विद्यालयस्तरमा अध्ययन गरिरहेका छन् ।

चितवनमा लागेको मेलाको कक्षमा बस्दै गर्दा धेरै अनुभव प्राप्त गरेको कुलुङ दम्पती सुनाउँछन् । ‘धेरैलाई अल्लोको कपडा भनेको थाहा रहेनछ । आउनुहुन्छ हेर्नुहुन्छ अनि जानुहुन्छ,’ देवेन्द्रले भने । ग्राहक आएर किने पनि नकिने पनि अल्लोको कपडाका बारेमा बुझाउन पाउँदा आफूलाई खुसी लागेको उनी बताउँछन् । स्वास्थ्यका लागि लाभदायी हुने अल्लोको कपडा उद्योगलाई आगामी दिनमा थप व्यवस्थित बनाएर लैजाने कुलुङ दम्पतीको योजना छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal