Skip to content
Prabhu

सेयर बजार उच्च अंकको घटबढ, अस्थिरताले के संकेत गर्छ ? 

काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको वृद्धि भयो । केही कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक १२७ अंकले बढेर बन्द भयो । अघिल्लो दिन उच्च अंकले घटेको बजार आज फेरि एकै पटक उच्च अंकले बढेर बन्द भएको हो ।
निरन्तरको घटबढले लगानीकर्तामा द्विविधा उत्पन्न गरेको छ । आइबार २७०० विन्दुबाट तल झरेको बजार सोमबार फेरि २८०० विन्दु माथि पुगेको छ । आज अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि केही वृद्धि भयो ।
अघिल्लो दिन सेयर बजारमा साढे १० अर्बको कारोबार भएको थियो । आज भने १३ अर्ब भन्दा बढीको कारोबार भएको छ । बजारमा सामान्य करेक्सन हुनु सामान्य हो । तर, पछिल्लो समय बजारमा बढ्दा पनि उच्च अंकले र घट्दा पनि उच्च अंकले घट्ने क्रम देखिएको छ ।
नेपाल धितोपत्र दलाल संघका अध्यक्ष धर्मराज सापकोटाको भनाइलाई मान्य हो भने बजार घटबढ सामान्य हो । तर, एकै पटक बढ्ने र एकै पटक घटेकाले भने केही द्विविधा देखिएको उनको बुझाइ छ । उनले बजार केही घटेपनि सूचकहरु भने बढ्ने क्रममा नै रहेको उनले बताए । अर्को तर्फ सरकार परिवर्तनका हल्लाहरू पनि आइरहेकाले बजारलाई केही प्रभाव पारेको अध्यक्ष सापकोटाको भनाइ छ ।
संघका उपाध्यक्ष सरिता अधिकारीले भने बजारमा देखिने प्राविधिक विश्लेषणले पनि बजारलाई प्रभाव पारेको बताइन् । ‘प्राविधिक विश्लेषणका कारणले पनि बजारलाई स्थिर बनाएको जस्तो देखिन्छ । तर यही कारणले बजार बढेको भन्न सकिने अवस्था छैन,’ उनले भनिन् । अर्को तर्फ बजार बढ्नका लागि लगानीकर्ताको सेन्टिमेन्ट नै मुख्य कुरा भएको उनको भनाइ छ ।
त्यस्तै नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल बजार घट्नु र बढ्नुमा धेरै कारण भए पनि अहिले बजारको हल्लाले पनि काम गरेको बताउछिन् । ‘बजार घट्ने र बढ्ने बजारको सुन्दरता नै हो ।
तर, केही मात्रामा भने बजारको हल्लाले पनि काम गरेको जस्तो देखिन्छ,’ उनले भनिन् । अहिले पनि बजारले नीतिगत सुधार र स्थायित्व खोजिरहेको उनको भनाइ छ । बजार सधैँ बढ्ने र सधैँ घट्ने नहुने उनले बताइन । ‘बजार घटेपछि बढ्छ र बढेपछि घट्छ । यो सत्य कुरा हो,’ उनले भनिन्, ‘यसलाई सामान्य रूपमा नै लिनु पर्छ ।’
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal