Skip to content
Prabhu

नेपाली व्यवसायीको लगानी गन्तव्य बन्दै दुबई 

काठमाडौं । पछिल्लो समय व्यावसायिक जमघट तथा व्यवसाय गर्ने व्यवसायीबिच सुनिने र छलफल हुने एउटा विषय भएको छ । दुबई । युनाइटेड अरब इमिरेटको दुबई विश्वका अन्य व्यवसायीजस्तै नेपालका व्यवसायीलाई लगानीको लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
संयुक्त अरब इमिरेट्स वास्तवमा सात राज्यहरूको संघ हो ।  दुबई, अबु धाबी, शारजाह, उम्म अल(क्वाइन, रस अल(खैमाह, अजमान र अल फुजैराह, यसको राजधानी अबु धाबी हो। यद्यपि, जब पनि संयुक्त अरब इमिरेट्सको कुरा हुन्छ, दिमागमा आउने पहिलो नाम दुबईको कुरा हुन्छ ।
मध्यपूर्वको खाडी देश युएईको दुबईमा आजभन्दा एक दशक अगाडि सम्म नेपालीको परिचय वैदेशिक रोजगारीमा जानेको रूपमा मात्र थियो । तर,पछिल्लो समय नेपालीहरू दुबईमा व्यवसायीमा निकै अगाडि बढेका छन् । नेपालबाट दुबईमा व्यावसायिक सम्पर्क कार्यालय खोल्ने होस् या अमेरिका,अस्ट्रेलिया तथा बेलायतका पुगेर व्यवसायमा सफल भएका नेपालीहरूको लगानीको गन्तव्य दुबई पुग्न पुगेको छ ।
नेपाली व्यवसायीहरूको दुबई मोहलाई देखेर नै नेपालमा विगतमा दुबईको घरजग्गाको मेला समेत खुल्ला रूपमा हुने गरेको थियो । पछिल्लो वर्षमा भएको मेलामा नेपाल प्रहरीले आयोजकलाई पक्राउ गरेपछि पछिल्लो समय यस्ता गतिविधिहरू गोप्य रूपमा हुने गरेको छ ।
लगानी होस् या दुबईको घरजग्गा सजिलो वातावरणको कारण अन्य देशका व्यवसायी जस्तै नेपालीहरू पनि आकर्षित भएका छन् । सूचना प्रविधिमा आधारित व्यवसाय गर्ने रुद्र पाण्डेले दुबईमा आफ्नो व्यवसाय विस्तार गरेका छन् ।
बेलायत र नेपालमा कलेज सञ्चालन गर्दै आएका अर्का व्यवसायी राजन कँडेलको शैक्षिक व्यवसाय समेत दुबईमा छ । यस्तै गैर आवासीय नेपाली संघ(एनआरएनए)का पूर्व अध्यक्ष भवन भट्टको अहिलेको व्यवसाय दुबई केन्द्रित छ ।
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले दुबईमा पाँचतारे होटल छ । यसबाहेक असख्य नेपालीको लगानी दुबईमा छ । नेपालमा विदेशी लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ रहेको हुँदा कतिपय व्यवसायीहरू दुबईमा लगानी गरेको कुरा सार्वजनिक रूपमा ल्याउन खोज्दैनन् । तर,अहिले नेपालमा नाम चलेका व्यवसायको लागि दुबई जाने व्यवसायीको संख्या निकै बढी छ ।
पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा नाम चलेका एक व्यवसायी पछिल्लो दुईवर्षदेखि दुबईमा छन् । निकै सफल मानिएको कम्पनी नेपालमा चलाएका उनी विश्व बजारमा प्रवेश गर्नको लागि दुबईलाई गन्तव्य बनाएका हुन् ।
“नेपालमा सबैजसो व्यावसायिक घराना र पैसा भएका व्यक्तिको लगानी दुबईमा छ,”एक व्यवसायी घरानाका प्रतिनिधिले भने,“कानुनले गर्दा सार्वजनिक रूपमा दुबईमा लगानी भएको कुरा धेरैले स्वीकार गर्न भने कठिन छ।”
दुबईमा अहिले दुईखाले नेपाली व्यवसायी छन् । एउटा वैदेशिक रोजगारी वा केही कामले दुबई पुगेर व्यवसायीमा जमेका नेपाली । अर्को नेपालका स्थापित व्यवसायी जो अवसरको लागि दुबईमा बसेर आफ्नो व्यवसायलाई विस्तार गर्न चाहन्छन् ।
युएईको दुबईले संसारभरबाट नै अर्बपति व्यवसायीलाई भित्राएको छ । यसको लागि दुबई सरकारले लिएको लगानीमैत्री कानुन र व्यवसाय गर्नको लागि भएको सहज वातावरण हो । दुबईमा व्यवसाय गरिरहेका नेपाली व्यवसायी ठाकुर ढुंगाना व्यवसायको लागि सहज वातावरणको लागि व्यवसाय गर्नेको लागि आकर्षक बन्दै गएको बताउँछन् । गैर आवासीय नेपाली संघ(एनआरएनए) युएईका निवर्तमान अध्यक्ष समेत रहेका ढुंगाना सहज वातावरणले विश्वभरका अन्य लगानीकर्तालाई आकर्षित गरेजस्तै नेपाली पनि आकर्षित भएको बताउँछन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal