Skip to content
Prabhu

‘असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी’

काठमाडौं ।। खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए

हाल बन्द गरिएको मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनः सञ्चालनमा ल्याई काठमाडौँवासीलाई खानेपानी सुविधा उपलब्ध गराउने उनले बताए ।

मौसममा सुधार आउनेबित्तिकै सो आयोजनाको सुरुङमा पानी पठाइने उनको भनाइ छ। मेलम्ची खानेपानी आयोजनाको पानी नियमित उपलब्ध हुन नसक्दा वैकल्पिक उपाय अवलम्बन गरेर काठमाडौँवासीलाई खानेपानी उपलब्ध गराइएको उनले बताए ।

मेलम्ची खानेपानी आयोजनाको बाँधस्थललाई सुरक्षित बनाई नियमित रुपमा खानेपानी उपलब्ध गराउन सरकारले आवश्यक कार्यक्रम अगाडि बढाइएको उनले जानकारी दिए ।

तराई–मधेसमा डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराइएको भए पनि पछिल्ला दिनमा पानीको स्रोत सुकेका कारण केही समस्या पैदा भएको उनको भनाइ छ। अधुरा खानेपानी आयोजना समयमै सम्पन्न गराउन मन्त्रालयले आवश्यक पहल गरिरहेको र आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई आग्रह गरिएको बताए ।

सरकारको स्पष्ट निर्देशन भए पनि विभिन्न मन्त्रालयका फाइल कर्मचारी प्रशासनले अड्काएर राखेको कारण कतिपय आयोजना कार्यान्वयनमा समस्या पैदा भएको खानेपानी मन्त्री यादवको भनाइ छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal