Skip to content
Prabhu

अब कता जाला सेयर बजार ? फेरि पुरानै १८ सय वा नयाँ उचाइ हासिल गर्ला ?

काठमाडौं । लामो समयदेखि बढ्न नसकेको सेयर बजार नयाँ सरकार बनेसँगै उच्च अंकले बढ्यो । अझ कारोबार रकममा त यो बीचमा ऐतिहासिक रेकर्डनै कायम भयो । दुई ठूला राजनीति दल मिलेर सरकार बन्दा स्थायित्व कायम हुने आसमा लगानीकर्ताहरू उत्साहित भए र बजार बढ्यो ।
अर्को तर्फ सेयर बजारले पत्याएका विष्णु पौडेल अर्थमन्त्रीका रूपमा आए । जसले सेयर बजारका लगानीकर्ताहरूलाई उत्साह नै थप्यो । त्यस्तै चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति लिएका कारणले पनि बजार बढ्नमा मद्दत गरेको विश्लेषण गरियो ।
यी र यस्ता विभिन्न कारणले गर्दा सेयर बजार परिसूचक परिसूचक उच्च अंकले बढेको  थियो । विष्णु पौडेल अर्थमन्त्री बन्नु भन्दा पहिलो २२०० को विन्दुमा रहेको सेयर बजार परिसूचक ३००० विन्दु सम्म पुग्यो । तर, पछिल्लो समय भने सेयर बजार ३००० विन्दुबाट झरेर २७०० विन्दु भन्दा तल पुग्यो । सोमबार एकै दिन १२७ अंकले बढेकाले अहिले नेप्से २८०० विन्दु माथि छ ।
पौडेल अर्थमन्त्री नियुक्त हुनु भन्दा पहिले सेयर बजारमा ८ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको थियो । तर साउन ३१ गतेको कारोबार दिन बजारमा २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भयो । जुन सेयर बजारमा अहिलेसम्मको उच्च कारोबार रकम हो ।
तर पछिल्लो समय फेरि सेयर बजार ओरालो लाग्ने हो कि भन्ने आंशका देखिने गरी सेयर कारोबारमा गिरावट आइरहेको छ । मंगलबार पनि सेयर बजारमा १३ अर्ब ५७ करोड भन्दा केही बढीको कारोबार भयो । परिसूचक ४००० विन्दु भन्दा माथि पुग्छ भनेर भनिएको थियो । तर अहिले २७०० देखि २८०० को विन्दुमा नै सेयर बजारले केही समय देखि आफ्नो स्थान बनाइरहेको छ ।
सेयर बजार कहिले पनि बढिरहने र घटी रहने हुँदैन । घट्ने र बढ्ने यसको बजारको सुन्दरता हो । यो सेयर बजारको एउटा विशेषता हो । अहिले हरेक चोक चोकमा र चिया पसलमा समेत सेयरको विषयमा कुरा हुने गर्छ । सेयर बजार घटिरहेको समयमा यो विषय खासै चर्चा हुने गरेको थिएन ।
अहिले बजारका सबै सूचकहरू सकारात्मक नै रहेकाले बजार बढ्न कुरामा आशंका नगर्न लगानीकर्ताहरूले आग्रह गरेका छन् । केही मात्रामा सामाजिक सञ्जालमा आएको हल्लाले पनि बजारलाई प्रभाव पारेको उनीहरूको भनाइ छ । बजार अहिले घटेर पहिलेको जस्तै १८०० वा २००० को विन्दुमा जाने अवस्था नरहेको नेपाल सेयरधनी संघका अध्यक्ष धनश्याम पाण्डेको भनाइ छ ।
सेयर बजार घट्ने र बढ्ने कुरा प्राकृतिक भएको उनले बताए । अ‘हिले पनि केही क्षेत्रहरु नबढेको र समग्र सुचकहरु सकारात्मक भएकाले बजार बढ्ने नै देखिन्छ,’ उनले भने, ‘बजारबाट छोटो समयमा लाभ लिन खोज्नेहरूले सामाजिक सञ्जालहरूमा हल्ला गरिरहेका छन् । तर बजार घट्दैन बढ्छ नै ।’
हल्लाको भरमा बजारमा नआउन पनि उनले आग्रह गरे । अहिले लाभांश वितरण गर्ने समय पनि भएकाले राम्रो कम्पनी छनोट गरेर आउँदा बजारबाट नाफा कमाउन सकिने उनको भनाइ छ । ‘सेयर बजारमा लामो समय टिक्न सक्नेहरूले फाइदा गर्ने हो । त्यसैले हप्ता दिनमा नाफा कमाउँछु भनेर बजार आउन हुँदैन,’ उनले भने ।
नेपाल धितोपत्र दलाल संघका अध्यक्ष धर्मराज सापकोटा पनि बजारको घटबढलाई सामान्य मान्छन् । ‘बजार घट्ने र बढ्ने प्रक्रिया सामान्य हो । तर अहिलेका सूचकलाई आधार मान्दा बजार घट्ने अवस्था देखिदैन,’ उनले भने । हल्लाका पछि नलागेर कम्पनीको अवस्था हेरेर लगानी गर्न उनको सुझाव छ ।
सेयर बजार भनेको सेन्टिमेन्टले असर गर्ने क्षेत्र भएकाले सामान्य हल्लाले पनि बजार घट्ने र बढ्ने लगानीकर्ताहरुको भनाइ छ । सेयर बजारका विषयमा हुन सामान्य टिप्पणीले पनि बजारलाई प्रभाव पार्ने नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरलेको भनाइ छ ।
सेयर बजार मनोवैज्ञानिक विषय भएकाले पुँजीबजारका बारेमा बुझेर लगानी गर्नु पर्ने हुन्छ । सीमित व्यक्ति र समूहको धारणाले पनि बजारलाई प्रभावित गर्छ । लगानीकर्ताहरूले बाहिरका धेरै कुरा सुन्ने र अरूको उक्साहटमा बजारमा आउने भन्दा पनि कम्पनीको अवस्था अध्ययन गरेर लगानी गरेमा यो क्षेत्रबाट फाइदा लिन सक्नेमा कुनै दुई मत छैन ।
आम लगानीकर्ता तथा सेयर बजारका जानकारहरूले अहिलेका सूचकहरूलाई आधार मान्दा बजार घट्ने भन्दा पनि नयाँ उचाइमा पुग्ने अवस्था रहेको बताउने गरेका छन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal