Skip to content
Prabhu

विद्यालयमै लप्सीको अचार बनाउन सिकाइँदै

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई पढ्दै आयआर्जन गर्न सिकाउन थालेको छ । विद्यार्थीलाई विद्यालयमा अचार बनाउने सिकाएर आयआर्जनसँग जोड्न थालिएको विद्यालयका शिक्षक एवं सिक्दै कमाउँदै कार्यक्रमका संयोजक अनुपबाबु श्रेष्ठले जानकारी दिए ।

विद्यालयले पहिलो चरणमा विद्यार्थीलाई पढ्दै कमाउन सिकाउनका लागि विद्यालय हाताभित्र लप्सीको अचार उत्पादन गर्न सुरु गरेको उनको भनाइ छ । ‘कम्पाउण्डभित्रै लप्सी लटरम्मै फलेर खेर गइरहेको थियो, त्यसैलाई उपयोग गर्दै विद्यार्थीले अचार उत्पादन थालेका छन्, त्यसले राम्रो प्रभाव पनि पारेको छ’, उनले भने । उत्पादित लप्सीको अचार प्रतिबट्टा १५० मा बिक्री भइरहेको संयोजक श्रेष्ठको भनाइ छ । ‘भर्खरमात्र उत्पादन सुरु गरिएकाले राम्रो पनि भइरहेको छ, विद्यालयकै जग्गामा आँपका रुखसमेत प्रशास्त भएकाले अब यामअनुसार आँपलगायतको अचार उत्पादन गर्न थाल्ने विद्यालयको योजना छ’, उनले भने ।

उनले विद्यालयले थालनी गरेको कामले बालबालिकामा स्थानीयस्तरमा उत्पादित तर खेर गइरहेको कृषि उत्पादनबाट पनि राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने सन्देश पुगेको बताए । उत्पादित अचार सहजै बिक्री भइरहेको संयोजक श्रेष्ठले जानकारी दिए । विद्यालयले तत्कालका लागि अचार बनाउन लाग्ने खर्च र सामानको मूल्यांकन गरेर अचारको मूल्य निर्धारण गरी बिक्री गर्न थालेको छ ।

‘उत्पादन गर्न सके बिक्छ भन्ने पनि लागेको छ, एउटै व्यक्तिले १५ बट्टासम्म माग गर्दा एक बट्टा दिन पनि सकिएन’, उनले भने, ‘अहिले त विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई पनि पुर्याउन गाह्रो छ ।’ अचार उत्पादन गर्न ८ कक्षादेखि १२ कक्षासम्म विद्यार्थीलाई सिकाउन थालिएको उनले बताए । ‘स्थानीयस्तर कतिपय उत्पादन खेर गइरहेका पनि छन् त्यसलाई सही सदुपयोग गरे राम्रो आयआर्जन गर्न पनि सकिने रहेछ,’ उनले भने, ‘त्यसैका लागि हामीले यो कामको थालनी गरेका हौँ ।’ उत्पादित अचारमा विद्यालयले आफ्नो विद्यालयको ‘स्टिकर’ टाँसेर बिक्री गरिरहेको उनले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal