Skip to content
Prabhu

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अघि बढाउँदै अर्थ मन्त्रालय

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः सुरु हुने भएको छ । अर्थ मन्त्रालयले पुनः प्रक्रिया सुरु गर्ने भएको हो ।

लामो समयदेखि रोकिएको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अघि बढ्ने निर्णय भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेलले धितोपात्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

पछिल्लो समय अर्थ मन्त्रालयले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन मिल्छ वा मिल्दैन ? भनेर महान्यायाधिवक्ताको कार्यालयसँग कानुनी राय मागेको थियो । जसमा अघि बढाउन मिल्ने राय आएपछि अर्थमन्त्रीको त्यस्तै निर्देशन आएको बताइएको छ । सरकाले नयाँ प्रक्रिया अघि बढाउन नसक्ने भएकोले पनि पुरानै प्रक्रियालाई नयाँ सिराबाट अघि बढाउन लागिएको हो ।

यस अघि सर्ट लिस्टमा परेका एक उम्मेदवार सन्तोष नारायण श्रेष्ठले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । जसमा गत असार १८ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय कार्यान्वयन नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी ग¥यो । गत असार २१ मा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले समेत असार १८ को अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो । त्यो मुद्दाको सुनुवाइ माघ ३० गते मात्रै हुने छ ।

पछिल्लो समय धितोपत्र बोर्ड अध्यक्ष छनौट समितिले १९ आवेदकबाट पाँच जनाको नाम सर्ट लिस्ट गरेको थियो । जसमा नवराज अधिकारी, कृष्णबहादुर कार्की, सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र चिरञ्जीवी चापागाईँ थिए । उनीहरूलाई समितिले अन्तरवार्ताको लागि डाकेको थियो । तर, अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठबाहेक तीन जना उपस्थित भएनन् । धितोपत्र ऐनमा तीन जना सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यस अनुसार नभएपछि छनौट समितिले सम्पूर्ण प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो ।

तर, अहिले पुनः तीनै सर्ट लिस्टमा परेकाहरूलाई अन्तरवार्ताको लागि बोलाइने भएको छ । यस अघि अनुपस्थित भएर प्रक्रिया नै फेल गराउन लागेका तीन भाइसमेत अन्तर्वार्तामा उपस्थित हुनेछन् । किनकि अहिले अर्थ मन्त्रालय मातहत कै दुई व्यक्ति छानिएका छन् । जसमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की छन् । अर्थ मन्त्रालयले उनीहरू दुवैको क्लास लिने योजना बनाएको छ । उनीहरूको समेत अन्तरवार्ताको प्रक्रिया सकाएर तीन जनाको नाम सिफारिस गर्ने योजनामा मन्त्रालयले काम गरिरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal