Skip to content
Prabhu

आगामी ३ वर्षमा चीनले अफ्रिकालाई ५० अर्ब डलर आर्थिक सहयोग गर्ने

बेजिङ । महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने वाचा गरेका छन् । उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहयोगलाई अझ गहिरो बनाउने वाचा गरे ।

सरकारी सञ्चारमाध्यमका अनुसार ५० भन्दा बढी अफ्रिकी नेता तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस यस साताको चीन–अफ्रिका मञ्चमा सहभागी छन् ।

अफ्रिकी नेताहरूले पूर्वाधार, कृषि, खानी, व्यापार र ऊर्जामा थप सहयोगका लागि यो साताअघि नै धेरै सम्झौताहरू सुरक्षित गरिसकेका छन् । बिहीबार बिहान बेइजिङको ग्रेट हल अफ दि पिपुलमा मञ्चको उद्घाटन समारोहमा नेताहरूलाई सम्बोधन गर्दै राष्ट्रपति सीले अफ्रिका महादेशसँगको सम्बन्धलाई ‘इतिहासको सबैभन्दा राम्रो अवधि’ भने ।

‘चीन अफ्रिकी मुलुकहरूसँग उद्योग, कृषि, पूर्वाधार, व्यापार र लगानीमा सहयोगलाई गहिरो बनाउन तयार छ’, उनले भने, ‘आगामी तीन वर्षमा चिनियाँ सरकार ३ खर्ब ६० अर्ब युआन ९५० अर्ब ७९ करोड डलर० को वित्तीय सहयोग उपलब्ध गराउन इच्छुक छ ।’

उनका अनुसार सो सहयोगको आधाभन्दा धेरै हिस्सा ऋणमा हुनेछ जसमा ११ अर्ब डलर ‘विभिन्न प्रकारको सहायता’ का साथै १० अर्ब डलर चिनियाँ कम्पनीहरूलाई लगानीका लािग प्रोत्साहित गर्नेमार्फत हुनेछ । उनले ‘अफ्रिकाका लागि कम्तीमा १० लाख नोकरी सिर्जना गर्न’ सहयोग गर्ने पनि वाचा गरे ।

बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले अफ्रिकी नेताहरूसँग चीन र अफ्रिका महादेशबीच बढ्दो सम्बन्धले ‘नवीकरणीय ऊर्जा क्रान्तिलाई प्रवर्द्धन गर्न सक्ने’ बताए । ‘गरिबी उन्मूलनलगायत चीनको विकासको उल्लेखनीय रेकर्डले अनुभव र विशेषज्ञताको खजाना प्रदान गर्दछ’, उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal