Skip to content
Prabhu

मन्त्रिपरिषद् बैठकका निर्णयः प्रधानमन्त्रीको अमेरिका भ्रमणदेखि दुग्ध किसानको रकम भुक्तानीका लागि ६० करोड रुपैयाँ स्वीकृतसम्म

काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गर्नेदेखि दुग्ध किसानको रकम भुक्ताताीका लागि ६० करोड रुपैयाँ स्वीकृत गर्ने निर्णग गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको ओलीले गर्ने संयुक्त राज्य अमेरिका भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभा भाग लिन भदौ २५ देखि असोज १२ गते (सेप्टेम्बर १० देखि २८) सम्म न्युयोर्क जाने कार्यतालिका रहेको छ । त्यसअन्तर्गत असोज ६ र ७ गते (सेप्टेम्बर २२ र २३) समिट अफ द फ्युचर हुने छ । प्रधानमन्त्री ओलीले महासभालाई समिट अफ द फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसहित भ्रमण दलमा परराष्ट्रमन्त्री डा. आरजु राणालगायत सहभागी हुने छन् ।

मन्त्रीपरिषद बैठकले आर्थिक वर्ष २०८१/८२ सालमा दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्तिकर्ता किसानको बाँकी रकम भुक्तानी गर्न र त्यसका लागि ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुले जानकारी दिए । उक्त निर्णयपछि दुध किसानले पाउनुपर्ने भुक्तानी पाउने उनले बताए । अर्थ मन्त्रालयले सर्तसहित ऋणका लागि भदौ १७ गते सहमति दिएपछि मन्त्रिपरिषद्को बैठकले ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो ।

चालु आव २०८१÷८२ का लागि डीडीसीका नाममा ऋण लगानीअन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपियाँ रकमान्तर गरी कुल ६० करोड रुपैयाँ ऋण लगानी गर्ने निर्णय भएको हो । हाल दुग्ध किसानको १ अर्ब ५४ करोड रकम बक्यौता छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय गरेको छ । लामाले केही समयअघि रेडियो नेपालबाट २५ वर्ष सेवाअवधि पूरा गरेर स्वैच्छिक अवकाश लिएका थिए । त्यस्तै बैठकले पेरिस पाराओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेको मन्त्री गुरुका अनुसार खेलाडीसहित प्रशिक्षकलाई ५ लाख ८५ हजार रुपैयाँ र टिम व्यवस्थापनका लागि २ लाख ९२ हजार रुपैयाँसहित सम्मान प्रदान गर्ने निर्णय भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal