Skip to content
Prabhu

सुन खरिदमा किन केन्द्रित छन् विश्वका केन्द्रीय बैंक ?

एजेन्सी । पछिल्लो समय विभिन्न देशका केन्द्रीय बैंकहरूले ठूलो मात्रामा सुन खरिद गरिरहेका छन् । वर्ल्ड गोल्ड काउन्सिलको नयाँ रिपोर्टका अनुसार जुलाई महिनामा मात्र केन्द्रीय बैंकहरूले ३७ टन सुन खरिद गरेका छन् । सुन खरिद गर्ने देशहरूमा पोल्याण्ड, टर्की, उज्बेकिस्तान, र चेक गणराज्य जस्ता देशहरू रहेका छन् ।
यद्यपि, सुनको यस खरिदबिक्रीका बीचमा केही देशहरूका केन्द्रीय बैंकहरूले भने सुन बेचिरहेका छन् । यो त्यस्तो समयमा भइरहेको छ, जब रूस–युक्रेन युद्ध, गाजा–इजरायल संघर्ष, र वातावरणीय संकटले संसारभर चुनौतीहरू बढाइरहेका छन् ।
वर्ल्ड गोल्ड काउन्सिलका अनुसार यस वर्षको दोस्रो त्रैमासिकमा (अप्रिल–जून) छिमेकी मुलुक भारत सुन खरिद गर्ने देशहरूको सूचीमा दोस्रो स्थानमा रहेको छ । पोल्याण्डको केन्द्रीय बैंकले १८.६८ टन सुन खरिद गर्दै पहिलो स्थान ओगटेको थियो भने भारतीय रिजर्भ बैंकले १८.६७ टन सुन खरिद गरेको थियो । त्यसैगरी, टर्कीले १४.६३ टन, उज्बेकिस्तानले ७.४६ टन, र चेक गणराज्यले ५.९१ टन सुन खरिद गरेका छन् ।
यसै त्रैमासिकमा विश्वभरका केन्द्रीय बैंकहरूले १८३ टन सुन खरिद गरेका छन्, जुन २०२३ को सोही अवधिमा १७३.६ टन थियो । कजाकस्तानले यस त्रैमासिकमा ११.८३ टन सुन बेचेको छ, जबकि सिंगापुरले ७.७ टन र जर्मनीले ७८० किलोग्राम सुन बेचेका छन् ।
वर्षौंदेखि सुन देशहरूको सम्पत्ति रिजर्भको महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ र यो अहिले पनि जारी छ । काउन्सिलका अनुसार सन् २०२३ मा केन्द्रीय बैंकहरूले एक हजार ३७ टन सुन आफ्नो भण्डारमा जम्मा गरेका छन् । सन् २०२२ मा केन्द्रीय बैंकहरूले एक हजार ८२ टन सुन संकलन गरेका थिए । यी तथ्यांकहरूले केन्द्रीय बैंकहरू अझै पनि सुनलाई रिजर्भ सम्पत्तिको रूपमा उच्च प्राथमिकता दिइरहेको संकेत गर्छ ।
सुन खरिदको कारण
एचडीएफसी सेक्युरिटीजका कमोडिटी र मुद्रा उत्पाद प्रमुख अनुज गुप्ताका अनुसार जसरी डलरको मूल्यमा गिरावट आएको छ, त्यसैले केन्द्रीय बैंकहरू आफ्नो पोर्टफोलियोमा सुन संकलन गर्दैछन् । सबैलाई अमेरिकाले भविष्यमा ब्याज दरहरूमा कटौती गर्न सक्छ र मूल्य घट्छ भन्ने आकलन छ ।
उनका अनुसार भारत पनि आफ्नो पोर्टफोलियोलाई विविध बनाउन यसो गर्दैछ । भारतलाई आफ्नो विदेशी मुद्रा भण्डार बढाउनुछ । यदि भारतले डलरको सट्टा सुन खरिद गर्छ भने, उसले बढी नोट छाप्न सक्छ । यो पनि एक सम्भावित कारण हुन सक्छ ।
भूराजनीतिक तनावहरू संसारका धेरै भागहरूमा बढिरहेका छन् । भविष्यमा कुनै उथलपुथल भएमा, मुद्राको मूल्य घट्नेछ र सुनको मूल्य वृद्धि हुनेमा पनि अनुमान गरिएको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal