Skip to content
Prabhu

बाँदर आतंकबाट जोगाउन काष्ठफल खेती

स्याङ्जा । बाँदर आतंकले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै आएका धान, मकै गहुँ, तरकारीबाली छोडेर बाँदरले नखाने काष्ठफलको खेतीतर्फ आकर्षित भएका हुन् ।

गल्याङ नगरपालिकाले बाँदरले नखाने वैकल्पिक खेतीका रूपमा कागती, सुन्तला, एभोकाडो, मेकाडेमिया नटलगायतका खेतीगर्न कृषकलाई प्रोत्साहन गरेको छ । यहाँका कृषकले स्वतःस्फूर्त रूपमा उखु, सयपत्रीफूल, अदुवा, बेसार, ड्रागनफ्रुडलगायतका खेतीगर्दै आएका थिए । विसं २०७८ को राष्ट्रिय कृषि गणनाअनुसार गल्याङ नगरपालिकाभित्र चार हजार ४२ हेक्टर जमिन खेती योग्य छ । हाल यहाँ एक हजार पाँच सय १९ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको छ । बाँदरले सताउन थालेपछि कृषक धान, मकै, गहुँ खेतीतर्फ आकर्षित हुन सकेका छैनन् ।

गल्याङ नगरपालिका–५, रुपाखानीका कृषक चन्द्रबहादुर रानाचित्रले बाँदरले हैरानपार्न थालेपछि धान, मकै गहुँ फलाउने खेतमा कागती, उखु, सयपत्रीफूल खेती गर्दै आएको बताए । उनले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा बाँदरले नखाने काष्ठफल र अन्य खेतीगर्दै आएका छन् । ‘बाउबाजेले धान, मकै, कोदो छर्ने गरेको खेती छोडेर पाँच वर्षदेखि सयपत्री र कागती खेती गर्दै आएको छु । मेरो उत्पादन देशका विभिन्न सहरमा पुग्छ,’ उनले भने, ‘गएको वर्षदेखि उखुसमेत लगाउन थालेको छु । परम्परागत खेतीभन्दा तेब्बर आम्दानी दिएको छ ।’

गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले नगरपालिकाभित्र बाँदर आतंक बढेकाले कृषकलाई बाँदरले क्षति नगर्ने बालीलगाउन सुझाव दिएको बताए । उनले बाँदर नियन्त्रणका लागि केन्द्र र प्रदेश सरकारसमेतले ठोस योजना बनाउन नसकेको अवस्थामा गल्याङ नगरपालिकाले बाँदरले नखाने प्रजातिका काष्ठफललाई प्राथमिकता दिएको सुनाए । ‘लामो समयसम्म उत्पादन दिने, पहाडी भेगका लागि हावापानी मिल्ने, एक पटक हुर्काइसकेपछि धेरै मेहनत गर्नु नपर्ने, उत्पादनलागत कम लाग्ने काष्ठफल लगाउन कृषकलाई प्रेरित गरेका छौँ,’ उनले भने, ‘विश्वास छ काष्ठ फल खेतीले यहाँका जनतालाई आत्मनिर्भर बनाउँदै जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्छ ।’

यता गल्याङ नगरपालिको ‘काष्ठ फल उत्पादन’ कार्यक्रमलाई पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजना (नाफा)ले सहयोग गर्दै आएको छ । नाफा आयोजना गल्याङकी प्राविधिक समीक्षा न्यौपाने संस्थाले कागती, सुन्तला, एभोकाडो, मेकाडेमिया नट खेतीमा सहयोग गर्ने बताइन् । ‘नर्सरिदेखि लिएर फलफूलको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र उत्पादित फलफूलको मूल्य अभिवृद्धि गर्ने काममा नाफा प्रोजेक्टले सघाउने छ,’ उनले भनिन् ‘यहाँ आवेदन दिएका कृषकले २० रोपनी एक हेक्टर क्षेत्रफलमा सूचिकृत फलफूल रोप्नुपर्ने हुन्छ । सर्त पूरा भएका कृषकले पचास प्रतिशत अनुदान प्राप्त गर्न सक्ने छन् ।’ न्यौपानेका अनुसार गल्याङमा यो योजना आउने पाँच वर्षसम्म चल्ने छ ।

नाफा आयोजनाले कागती, सुन्तला, एभोकार्डो, मेखाडेमिलाय खेतीका लागि किसानलाई अनुदानको व्यवस्थासमेत गरेको छ । यो आयोजना सम्पन्न गर्नका लागि एसियाली विकास बैंक र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम र नेपाल सरकारको ऋण तथा अनुदान व्यवस्थापनमा देश भरका एक सय स्थानीय तहका लागि ९ करोड ३४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । आयोजना ३४ जिल्लाका एक सय वटा स्थानीय तहमा र स्याङ्जाका गल्याङ नगरपालिका, चाप कोट नगरपालिका र बिरुवा गाउँपालिकामा सञ्चालित छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal