Skip to content
Prabhu

पोखराका इन्जिनियर र सबइन्जिनियरलाई पौने २ लाख जरिवानासहित ८ महिना कैद

पोखरा । पोखरा महानगरपालिकाका घुससहित पक्राउ परेका इन्जिनियरसहित ३ जना दोषी ठहर भएका छन् । घर निर्माणको नक्सा प्रमाणपत्र दिने क्रममा घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर विशेष अदालतबाट दोषी ठहर भएका हुन् ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले इन्जिनियर बराल र सबइन्जिनियर रोकायालाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद सजाय सुनाएको हो । घुस दिन मतियारको रूपमा काम गरेका सुरजलाई विशेष अदालतले आधा अर्थात् ८७ हजार ५ सय रुपैयाँ जरिवाना र ४ महिना कैद सजायको फैसला सुनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २८ गते पोखराबाट १ लाख ५० हजार रुपैयाँ घुससहित सबइन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई रंगेहात पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा नाम जोडिएपछि केही दिनपछि अख्तियारले इन्जिनियर शिवप्रसादलाई पनि पक्राउ गरेको थियो ।

अनुसन्धानपछि अख्तियारले गत वैशाख २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा घुसबापतको २ लाख रुपैयाँ रकम इन्जिनियर बरालको खातामा गएको देखिएको छ । त्यो रकम जफत गरेर उजुरीकर्तालाई फिर्ता गर्ने फैसला अदालतले गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal