Skip to content

बुटवल–गोरुसिङ्गे सडक विस्तारमा ७ हजार रुख काटिने ७० हजार रोपिने

nabil bank

बुटवल । बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड विस्तारका क्रममा ७ हजार रुख काटिने भएको छ । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका अनुसार सडक विस्तारका क्रममा रुपन्देही र कपिलवस्तु जिल्लामा पर्ने जंगलमा रहेका करिब ७ हजार रुख काट्न वन विभागसँग अनुमति मागिएको छ ।

यसैगरी ७ हजार रुख काटिँदा ७० हजार रुखका बिरुवा रोपिने छ । आयोजनाका प्रमुख होमबहादुर एसीका अनुसार ती सात हजार रुख काट्न लाग्ने खर्च, एक रुख काटे बराबर १० बिरुवा रोप्ने र पाँच वर्ष संरक्षण गर्न लाग्ने खर्च पनि वन विभागलाई दिइने छ ।

आयोजना प्रमुख एसीले वन विभागले सबै प्रक्रिया पूरा गरेपछि रुख काट्ने काम सुरु हुने बताए । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सो सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा गत असार १३ गते ठेक्का लिएको हो ।

आयोजनाका अनुसार सडक विस्तारकैक्रममा विद्युतका पोल सार्ने प्रक्रिया सुरु भइसकेको छ भने सडक नाप गर्ने काम भइरहेको छ । सडक विस्तार अन्तर्गत भौतिक पूर्वाधारको काम भने दसैँपछि मात्र सुरु हुने छ । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छन् भने १४९ वटा कलभर्ट र छ वटा अन्डर पास ओभर पास निर्माण हुने छन् ।

बुटवल–गोरुसिङ्गे सडक आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा साढे ३७ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ ।

यस्तै ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ । बहुवर्षीय योजनाअनुसार निर्माण हुने सडकखण्डको पहिलो चरणको काम सम्पन्न भएपछि दोस्रो चरणका लागि ठेक्का सम्झौता हुने आयोजनाले जनाएको छ । त्यसपछि बुटवलको अहिलेको तिनाउ पुललाई विस्थापन गरी चितवनको जस्तै सिग्नेचर पुल निर्माण गरिने छ । तत्कालीन राजा महेन्द्रको पालामा बनेको सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो ।

आयोजनाका बुटवल प्रमुख एसीले ठेक्का सम्झौता सम्पन्न भएको तर वर्षाको समय रहेकाले सडकलाई असर नपर्ने गरी दसैँपछि मात्रै सडक विस्तारको काम सुरु हुने जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime