काठमाडौं । चार हाइड्रोपावरले लाभांश घोषणा गरेका छन् । लाभांशको सिजनको सुरु भएसँगै गत आर्थिक वर्ष २०८०÷८१ सम्मको मुनाफाबाट चार हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका हुन् ।
नेप्से सूचीकृत ९१ हाइड्रोपावर कम्पनीमध्ये हालसम्ममा भगवती हाइड्रोपावर ,सुपर माई हाइड्रोपावर, माण्डु हाइड्रोपावर र अपि पावर कम्पनीले लाभांश घोषणा गरेका हुन ।
यी चार कम्पनीमध्ये सुपर माई हाइड्रोपावर कम्पनीले पहिलो पटक लाभांश दिन थालेको हो । यस कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभाशं घोषणा गरेको हाइड्रोपावरमध्ये सबैभन्दा बढी लाभांश भगवती हाइड्रोपावर कम्पनीले १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कुल लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको हो । गत वर्षको प्रस्तावित लाभांश पारितका लागि कम्पनीले आगामी असोज १६ गते साधारणसभा आयोजना गरेको छ । लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने भएको छ ।
त्यस्तै माण्डु हाइड्रोपावर कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । गत वर्ष प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले असोज १४ गते साधारणसभा बोलाएको छ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा भदौ ३० गते सम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभाशं पाउन योग्य हुनेछन् ।
त्यस्तै अपि पावर कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस अपि पावर र सुपर माई हाइड्रोपावर कम्पनीले हालसम्ममा साधारणसभाको मिति तय गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्