एजेन्जी । हुवावेले विश्वकै पहिलो ट्राई–फोल्ड स्मार्टफोन मेट एक्सटी सार्वजनिक गर्दै प्राविधिक क्षेत्रमा एउटा नयाँ उपलब्धि हासिल गरेको छ । एप्पलले आइफोन १६सार्वजनिक गरेको केही घण्टापछि हुवावेले यो फोन सार्वजनिक गरेपछि प्रतिष्पर्धा कडा हुने अनुमान गरिएको छ । हुवावे र एप्पलबीचको यस प्रतिस्पर्धाले प्रिमियम स्मार्टफोन बजारमा नयाँ दिशामा जाने संकेत गरिरहेको छ ।
हुवावेले मेट एक्सटीलाई पाँच वर्षसम्मको गहन अनुसन्धान र विकासपछि सार्वजनिक गरेको जनाएको छ । यसको मुख्य विशेषता भनेको यसमा रहेको ट्रिपल–फोल्ड डिजाइन हो । जसले यसलाई विश्वको पहिलो ट्राई–फोल्ड स्मार्टफोन बनाएको छ । यसमा तीनवटा प्यानल छन् । जसलाई तीन पटकसम्म फोल्ड गर्न सकिन्छ । जसले फोनलाई बहुपयोगी बनाउँछ ।
यो स्मार्टफोनको प्रमुख आकर्षण भनेको यसको १०.२ इन्चको स्क्रिन हो । जुन ठूलो र चम्किलो छ। यो फोनको अर्को महत्वपूर्ण पक्ष भनेको फोल्डिङ प्रविधि हो । यो बाहिरी र भित्री दुवै तर्फबाट फोल्डिङ गर्न सकिन्छ ।
मेट एक्सटी स्मार्टफोनमा दुईवटा रङ उपलब्ध हुनेछ । रातो र कालो । यसको सुरुआती मूल्य १९ हजार ९९९ युआन अर्थात २ हजार ८ सय अमेरिकी डलर रहेको छ ।
अमेरिकी प्रतिबन्धहरूको कारण केही वर्षयता हुवावेको स्मार्टफोन व्यवसाय ठूलो समस्यामा परेको थियो । अमेरिकाले हुवावेलाई राष्ट्रिय सुरक्षा जोखिमको रूपमा चित्रण गर्दै हुवावेका नयाँ उपकरणहरूमा गुगलको एन्ड्रोइड ओएस उपलब्ध गराउन रोक लगायो । यस प्रतिबन्धले हुवावेको अन्तर्राष्ट्रिय बजारमा ठूलो झटका दिएको थियो । तर पछिल्लो समय, कम्पनीले पुनः उदय गरिरहेको छ ।
हुवावेको मेट६० प्रो र मेट एक्स५ जस्ता फ्ल्यागशिप मोडेलहरूले कम्पनीलाई पुनः सफलताको बाटोमा ल्याएको छ । अगस्टमा कम्पनीले दोहोरो अंकको वृद्धिदर हासिल गरेको छ ।, जसमा राजस्व र नाफा दुवैमा ठूलो सुधार आएको थियो । सन् २०२४ को पहिलो पाँच महिनामा हुवावेको फ्ल्यागशिप स्मार्टफोनको बिक्रीमा ७२ प्रतिशतको वृद्धि देखिएको थियो, जुन उसको पुनरागमनको स्पष्ट संकेत हो ।
हुवावेले अहिले प्रिमियम बजारमा आफ्नो पकड बनाइरहेको छ, र यसका नयाँ उत्पादनहरू, जस्तै मेट एक्सटीले यसलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । मेट एक्सटीको ३७ लाखभन्दा बढी प्रिअर्डर भइसकेको छ । यसले पनि यसको लोकप्रियतालाई देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्