Skip to content
Prabhu

भाटभटेनीको दौड, २ अर्ब लगानीमा २९औं स्टोर चितवनको टाँडीमा

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले २ अर्ब लगानीमा चितवनको टाँडीमा २९औं स्टोर सञ्चालनमा ल्याउने भएको छ ।

पोखरामा तीन दिनअघि भाटभटेनीले २८औं स्टोर निर्माणका लागि भूमि पुजन गरेको थियो । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङले २९औं स्टोर चितवनको टाँडीस्थित शान्तिचोकमा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

एक वर्षभित्रैमा उनले सो स्टोर सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि केही प्राविधिक कामले ढिलाइ भए १४ महिनाभित्रमा सञ्चालनमा आउने बताए । उनले कोरोनाकालमा इटहरीदेखि झापासम्म स्टोर बनाएर सञ्चालनमा ल्याएको भाटभटेनीले यो २९औं स्टोरले पूर्वि चितवनको टाँडी क्षेत्रका जनतालाई सहजता प्रदान गर्ने जनाएको छ । टाँडीमा सञ्चालनमा आउन लागेको स्टोर बेसमेन्टसहित ७ तलाको हुनेछ ।

एक तलामा ४६ हजार स्क्वायर फिट रहन्छ । चितवनमा नक्सा पासदेखि, कित्ताकाटलगायतका काम तत्कालै भए एक वर्षभित्रै स्टोर सञ्चालनमा आइसक्नेछ । चितवनकै भरतपुरमा भाटभटेनीको अर्को स्टोर भने पहिल्यै सञ्चालनमा आइसकेको छ । चितवनस्थित नयाँ स्टोरमा करिब पाँच सयले रोजगारी प्राप्त गर्ने जनाइएको छ ।

यसअघि भाटभटेनीले देशका विभिन्न स्टोरमा ७ सय बढीलाई पार्टटाइम काम दिएको छ । १८ देखि २१ वर्ष उमेर समूहका युवायुवतीलाई लक्षित गरेर काम दिइएको छ । उनीहरुले आफ्नो अध्ययनलाई जारी राखेर काम गर्न पाउनेछन् ।

काठमाडौं उपत्यकाभित्रका स्टोरमा यसरी रोजगारी दिइए पनि अब छिट्टै काठमाडौं बाहिरका स्टोरमा पनि यस्तो रोजगारी दिने तयारी रहेको अध्यक्ष गुरुङले बताए । पढ्दै रोजगारी कार्यक्रम अन्तर्गत भाटभटेनीले विदेशमाजस्तै पार्ट टाइम कामको व्यवस्था गरिएको जनाएको छ ।

अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर यो रोजगारी सिर्जना गरिएको हो । कम्तिमा पनि दुई हजार जनालाई देशभर यसरी नै रोजगारी प्रदान गर्ने जनाइएको छ । पार्टटाइम जागिर गर्नेहरुले हप्ता दिनमै उनीहरुको पारिश्रमिक पनि प्राप्त गर्ने छन्।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal