Skip to content
Prabhu

‘आवश्यक लगानी जुटाउन सरकार सबै प्रकारको सहजीकरण गर्न तत्पर छ’

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४ को यो सत्रमा आज तपाईहरू माझ सहभागी हुन पाउँदा खुसी अनुभूति गरेको छु । यसका लागि आयोजकलाई धन्यवाद दिन चाहन्छु । यो कार्यक्रमले मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएको पूर्वाधार क्षेत्रको विकासका विभिन्न आयामहरुमा छलफल गर्न अन्तरसम्बन्धित क्षेत्रका व्यक्तित्वहरु, नीति निर्माताहरु, विज्ञहरू र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउन सफल भएको छ । पक्कै पनि यो सम्मेलनले एक्काइसौं शताब्दीको आवश्यकता अनुरुपको आधुनिक, सुरक्षित र हरित पूर्वाधार विकासको मार्ग चित्र कोर्न ठोस योगदान गर्ने मैले विश्वास लिएको छु ।

समस्त नेपाली आकांक्षा ‘समृद्ध नेपाल र सुखी नेपाली’ हो । सरकार यही नेपाली आकांक्षा साकार पार्न अनवरत लागिरहेको छ। समृद्ध नेपाल निर्माणको मुल आधार नै पर्याप्त, गुणस्तरीय, दिगो र उत्थानशील भौतिक पूर्वाधार विकास हो । निश्चय नै हामी पूर्वाधार विकासको हिसाबले कमजोर अवस्थामा छौं । भूपरिवेष्ठित अवस्थिति र जटिल भू–बनौटलाई हाम्रो पूर्वाधार विकासको मुख्य चुनौतीको रुपमा लिने गरिएको छ ।

पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न हामीले नीतिगत तथा प्रकृयागत सुधार गर्नु आवश्यक छ । सरकारी क्षेत्रको साथसाथै नवीन उपकरणकरुको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सरकार सवै प्रकारको सहजीकरण गर्न तत्पर छ ।

हामी वर्तमानका चुनौतिहरुको सामना गर्दै भावी संभावनाहरुलाई उजागर गर्न आफ्ना नीति, योजना एवम् कार्यक्रमहरु तय गर्दै पूर्वाधार विकासको अभियानमा समाहित हुन चाहन्छौं । यसका लागि निजी क्षेत्रको प्रभावकारी सहयोग, समन्वय, सहकार्य आवश्यक छ ।

(अर्थमन्त्री पौडेलले सीएनआईले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२४ मा गरेको सम्बोधन)

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal