Skip to content
Prabhu

दसैं अगाडि यी ९ कम्पनीले गर्दै छन् साधारणसभा, कसले कति लाभांश दिँदै छन् ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका ९ कम्पनीले दसैँभन्दा अघि नै आफ्नो साधारणसभा बोलाएका छन् । विभिन्न ९ कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारणसभा दसैँभन्दा अघि नै बोलाएका हुन् ।

नेप्सेमा सूचीकृत भएका कम्पनी मध्ये दसैँभन्दा अघि नै साधारणसभा बोलाएका ९ कम्पनीमध्ये ७ वटा हाइड्रोपावर कम्पनी छन् । त्यस्तै ओरियण्टल होटल र नेपाल ल्यूब आयल लिमिटेडले पनि दसैँभन्दा अघि नै आफ्नो साधारणसभा आयोजना गर्दै छन् ।

साधारणसभाको मिति घोषणासँगै यी कम्पनीका सेयरधनीहरुले दसैँअघि नै लाभांश पाउने अवस्था देखिएको छ । तर, साधारणसभाको मिति दसैंअघि नै भए पनि अधिकांश हाइड्रोपावरले भने कम्पनी आफ्ना सेयरधनीको हात खाली हुने अवस्था पनि छ । केही कम्पनीहरुले अझै पनि बुक क्लोजको मिति तोक्न नै बाँकी रहेको छ ।

माण्डु हाइड्रोपावर

माण्डु हाइड्रोपावर लिमिटेडले १३ औं वार्षिक साधारणसभा असोज १४ गते गर्ने भएको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तोलेको हो । कम्पनीले हालैमात्र १२ प्रतिशत लाभांश कर कट्टी गरी वितरण गर्ने प्रस्ताव गरेको छ । सभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी मात्रै लाभांश पाउन र सभामा उपस्थित हुन सक्ने छन्।

भगवती हाइड्रोपावर

भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले आफ्नो २४ औं वार्षिक साधारणसभा असोज १६ गतेका लागि आह्वान गरेको छ । सभा अर्पण व्याङक्वेट, थापागाउँ, बानेश्वर, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट कुल १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज २ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

बाराही हाइड्रोपावर

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले असोज १८ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा गौरव इभेन्ट्स गौतम प्लाजा स्युचाटार सालिक चोक, कलंकी काठमाडौंमा बिहान ८ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । जस कारण कम्पनीका सेयरधनीहरुको हात यो वर्ष रित्तो हुने भएको छ ।

बरुण हाइड्रोपावर

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले २१ औं वार्षिक साधारणसभा असोज १३ गते गर्ने भएको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिले काठमाडौंको धुम्बाराही चोकस्थित लर्ड पार्टी भेन्यूमा सभा गर्ने जनाएको छ । यो कम्पनीले पनि सेयरधनीलाई लाभांश विवतरण गर्ने छैन ।

सभाले हकप्रद सेयर अनुमोदन, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने छ । सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा भदौ ३१ गतेसम्म कायम सेयरधनी मात्रै सभामा उपस्थित हुन सक्नेछन् ।

मोलुङ हाइड्रोपावर

आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव नगरेको मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी असोज १८ गते २ आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ । सभा बाघभैरव ब्यांकेट, नगाउँ दोबाटो, कीर्तिपुर, काठमाडौंमा आयोजना हुने छ । सभामा आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

सभा प्रयोजनका लागि यसले आगामी असोज २ गते बुक क्लोज गर्ने भएको छ ।

अप्पर स्याङ्गे

लाभांक प्रस्ताव नगरेको अर्को कम्पनी हो अपर स्याङ्गे हाइड्रोपावर लिमिटेड । यो कम्पनीको साधारणसभा असोज १८ गतेका लागि तोकिएको छ ।

ङादी ग्रुप पावर

ङादी ग्रुप पावरले असोज १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस हुँदैछ । कम्पनीले यसअघि नै १०० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाइसकेको छ । तर यो कम्पनीले पनि आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने छैन् ।

ओरियण्टल होटल्स लिमिटेड

ओरियण्टल होटल्स् लिमिटेडले असोज २० गते आइतबार २७ औं वार्षिक साधारणसभा बोलाएको छ । होटलको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३१६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्ने छ । सभा प्रयोजनार्थ होटलले असोज ७ देखि २० गतेसम्म बुक क्लोज गर्ने छ ।

नेपाल ल्यूब आयल

नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश र एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न असोज १८ गते साधारणसभा डाकेको छ । सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान साढे ११ बजे सुुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal