Skip to content
Prabhu

लेबनानमा वाकीटकी विस्फोट, तीनको मृत्यु ३०० भन्दा बढी घाइते

एजेन्सी । लेबनानको राजधानी बेरूतमा पेजर बम विस्फोटका एक दिनपछि पुनः धमाका भएका छन् । विभिन्न मिडिया रिपोर्टहरूका अनुसार यी विस्फोटहरू वाकी–टकी र केही पुराना पेजरहरूमा भएका छन् । यी पेजरहरू हिज्बुल्लाहका लडाकुहरूले प्रयोग गर्ने गरेका थिए । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार ताजा वाकी–टकी विस्फोटहरूमा कम्तीमा नौ जनाको मृत्यु भएको छ र तीन सयभन्दा बढी मानिसहरू घाइते भएका छन् ।
लेबनानको सरकारी समाचार एजेन्सी, नेशनल न्यूज एजेन्सी (एनएनए)ले दक्षिणी बेका उपत्यकाको सोहमर शहरमा ‘डिभाइसहरू’मा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको जनाएको छ । एनएनएले दक्षिणी लेबनानमा बेरूतको दक्षिण उपनगरमा रहेका केही घरमा पुराना पेजरहरूमा विस्फोट भएको पनि खबर दिएको छ ।
लेबनानी रेड क्रसले विभिन्न क्षेत्रमा भएका विस्फोटहरूको जानकारी दिँदै भनेको छ कि उसका टोलीहरू देशको दक्षिण र पूर्वी क्षेत्रमा खटिएका छन् । उनीहरूले करिब ३० एम्बुलेन्स टोलीलाई परिचालन गरेका छन् र अधिकांश टोलीहरूलाई उच्च सतर्कतामा राखिएको छ । धेरै घाइतेहरूलाई राजधानी बेरूत र बालबेकका अस्पतालहरूमा लगिएको छ ।
एनएनएका एक संवाददाताले सेंट्रल बेकाको अली अल–नाहरी गाउँमा सडक किनारामा रहेको एउटा डिभाइसमा विस्फोट हुँदा दुई व्यक्ति घाइते भएको जानकारी दिएका छन् । अर्का संवाददाताले दक्षिणी बेकाको जाएदेत मार्जेयुनको चिहान क्षेत्र नजिकै एउटा कारभित्र रहेको पेजरमा विस्फोट भएको खबर दिएका छन् ।
दक्षिणी लेबनानको भूमध्यसागरको किनारमा रहेको सिडोनमा एक फोन पसलबाट धुवा निस्किएको दृश्यहरू सार्वजनिक भएका छन्।  विस्फोटको कारण स्पष्ट नभए पनि देशका विभिन्न भागहरूमा धुवा देखिएको छ।
संयुक्त राष्ट्र सुरक्षा परिषदले लेबनानमा वाकी–टकी विस्फोटको विषयमा यसै साता एक बैठक गर्ने घोषणा गरेको छ । परिषदका अध्यक्षले एक छोटो विज्ञप्तिमा यस विषयमा छलफल हुने जानकारी दिएका छन्।
हिज्बुल्लाहको प्रभावशाली क्षेत्र मानिने दक्षिणी बेरूतमा चार जनाको अन्तिम यात्राका क्रममा एक विस्फोट भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार हिज्बुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणहरूमा यी विस्फोटहरू भएका हुन् । हिज्बुल्लाहले पाँच महिना अघि यिनै समय पेजरहरू पनि खरिद गरेका थिए ।
लेबनानको सरकारी नेशनल न्यूज एजेन्सीले दक्षिणी बेरूतका केही घरमा रहेका पुराना पेजरहरू पनि विस्फोट भएका छन् । ताजा विस्फोटमा सोहमर भन्ने सहरमा तीन जनाको मृत्यु भएको र घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
मंगलबार लेबनानमा भएका पेजर विस्फोटहरूमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । बुधबार तिनीहरूका अन्तिम यात्रा निकाल्दै गर्दा फेरि विस्फोट भएको हो । मंगलबारका पेजर विस्फोटहरूमा १२ जनाको मृत्यु भएको थियो र २८ सय भन्दा बढी मानिसहरू घाइते भएका थिए । केही गम्भीर घाइतेहरूको राम्रो उपचारका लागि विदेश पठाइने तयारी भएको छ । अबियादका अनुसार केही घाइतेहरूलाई इरान र सिरिया पठाइएको छ, तर ९८ प्रतिशत घाइतेहरूको उपचार देशमै भइरहेको छ।
इजरायलमाथि आरोप
लेबनानका संस्कृति मन्त्री मोहम्मद विसामले धमाकाहरूमाथि टिप्पणी गर्दै इजरायलविरुद्धको जीत सुनिश्चित भएको बताए । उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, “इजरायलका अपराधहरूको कुनै सीमा छैन, र हिजो भएका हमला यसले प्रमाणित गर्छ कि इजरायल मानवताको दुश्मन हो ।” यस विषयमा इजरायली सेनाको तर्फबाट अहिलेसम्म कुनै औपचारिक बयान आएको छैन ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal