Skip to content
Prabhu

सबै सूचक बढ्दा पनि किन घट्दो क्रममा छ बीमाको पहुँचमा रहेको जनसंख्या ?

काठमाडौं । पछिल्लो समय बीमाको दायरमा रहेको जनसंख्या घट्दो क्रममा देखिएको छ । अघिल्लो आर्थिक वर्षमा ३ प्रतिशतले बढेको बीमाको दायरामा रहेको जनसंख्या गत आर्थिक वर्षको अन्त्यसम्ममा १.११ प्रतिशतले घटेको हो ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा ४४.३८ प्रतिशत जनसंख्या बीमाको दायरामा रहेको थियो । त्यो संख्या गत आर्थिक वर्षको असार मसान्तसम्म घटेर ४३.२७ प्रतिशतमा कायम भएको छ । बीमा प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो आवको अन्तिमसम्ममा नेपालको जनगणना २०७८ को जनसंख्याको ४३.२७ संख्या बीमाको दायरामा देखिएको छ ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमाको पहुँचमा पुग्ने जनसंख्या बाहेका अरु सबै सूचक सकारात्मक रहेका छन् । बीमाको पहँचमा पुग्नेको जनसंख्या मात्रै नकारात्मक रहेको छ । प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीको शाखा कार्यालय, कर्मचारीको संख्या, बीमा शुल्क संकलन, बीमालेख संख्या लगायतका सूचक सबै सकारात्मक छन् ।

प्राधिकरणको तथ्यांकअनुसार जम्मा बीमा कम्पनीहरुको कार्यालय संख्या ६.५३ प्रतिशतले बढेको छ । २०८० को असारसम्म २ हजार ८०१ वटा शाखा रहेका थिए । यो संख्या २०८१ असारसम्म आइपुग्दा २ हजार ९८४ वटा पुगेको छ । २०८० असारसम्मको तुलनामा २०८१ असारसम्मको अवधिमा बीमा कम्पनीहरुमा रहेका कर्मचारीको संख्या पनि ४.२८ प्रतिशतले बढेको छ । २०८० असारमा ११ हजार २०५ कर्मचारी रहेका थिए । २०८१ को असारसम्मा यो संख्या बढेर ११ हजार ६८५ जना पुगेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार २०८० को अन्तिमसम्म कुल सक्रिय जीवन बीमालेखको संख्या १ करोड ४१ लाख ३७ हजार ३२१ रहेको थियो । यो संख्या असार २०८१ को अन्तिमसम्ममा १.८१ प्रतिशतले घटेर १ करोड ३८ लाख ८१ हजार ४८२ पुगेको छ । त्यस्तै २०८० को असार मसान्तको भन्दा २०८१ असार मसान्तसम्म म्यादि र लघु म्यादि जीवन बीमालेखको संख्या पनि घटेको छ । तथ्यांक अनुसार गत असारमा यस्तो बीमा लेखको संख्या ६८ लाख ९ हजार ९३७ रहेकोमा २०८१ को असारमा यो संख्या १२.१५ प्रतिशतले घटेर ५९ लाख ८२ हजार ७२६ पुगेको छ ।

यो अवधिमा कुल निर्जीवन बीमालेखको संख्या ३.९१ प्रतिशतले बढेको छ । २०८० को असार अन्तिममा २७ लाख ९२ हजार ५१६ रहेको यस्तो संख्या २०८१ को असारसम्म आइपुग्दा २९ लाख १ हजार ६४० पुगेको छ । त्यस्तै वैदेशिक रोजगार बीमालेखको संख्या पनि अघिल्लो आवको भन्दा गत आवमा २६.९७ प्रतिशतले वृद्धि भएको छ । यसतो बीमा लेखको संख्या अघिल्लो आवको अन्तिमसम्ममा १६ लाख २९ हजार ५७५ रहेको थियो भने गत आवको अन्तिमसम्ममा त्यो संख्या २० लाख ६९ हजार ४२ पुगेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा प्रथम जीवन बीमा शुल्क संकनल पनि साढे १० प्रतिशतले बढेको छ । अघिल्लो आवको अन्तिमसम्मा यस्तो शुल्क ३१ अर्ब २३ करोड ८५ लाख रुपैयाँ रहेको थियो भने गत आवको अन्तिमसम्ममा यस्तो शुल्क ३४ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै नविकरण जीवन बीमा शुल्क पनि ९.७८ प्रतिशतले बढेको छ । यस्तो शुल्क अघिल्लो आवको अन्तिमसम्ममा १ खर्ब ११ अर्ब ११ करोड ७९ लाख रहेको थियो । गत आवमा यस्तो शुल्क १ खर्ब २१ अर्ब ९८ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांक अनुसार पनि बीमाको दायरामा पुगेको जनसंख्या घटेको छ । गत आर्थिक वर्षको पहिलो महिना साउनमा ४४ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको थियो । तर, चालु आर्थिक वर्षको पहिलो महिनामा भने यस्तो संख्या ४२.७० प्रतिशत मात्रै रहेको छ । यो अवधिमा बीमा कम्पनीका कर्मचारीको संख्या भने ४.८४ प्रतिशतले बढेको छ । अघिल्लो आवको साउन महिनामा ११ हजार १५२ जना कर्मचारी रहेका थिए । चालु आवको पहिलो महिनामा यो संख्या ११ हजार ६९२ जना पुगेको छ ।

यो अवधिमा बीमा कम्पनीको कार्यालय संख्या ६.९० प्रतिशतले बढेर २ हजार ९९२ पुगेको छ । अघिल्लो साउनमा बीमा कम्पनीको कार्यालय संख्या २ हजार ७९९ रहेको थियो । जसमध्ये चालु आवको पहिलो महिनामा गत आवको पहिलो महिनाको तुलनामा जीवन बीमा कम्पनीको कार्यालय संख्या २.५२ प्रतिशतले बढेको छ भने निर्जिवन बीमा कम्पनीको कार्यालय संख्या १४.६४ प्रतिशतले बढेको छ ।

गत आवको साउन महिनामा १ हजार ७८८ कार्यालय रहेका जीवन बीमा कम्पनीको चालु आर्थिक वर्षको पहिलो महिनामा १ हजार ८३३ पुगेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीको कार्यालय संख्या गत आवको साउन महिनामा १ हजार ११ वटा रहेका थिए भने चालु आवको साउन महिनासम्म यो संख्या १ हजार १५९ पुगेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार साउन महिनामा सक्रिय जीवन बीमा पोलिसीको संख्यामा पनि गिरावट आएको छ । अघिल्लो आवको साउन महिनामा १ करोड ४० लाख २१ हजार ५४० सक्रिय जीवन बीमालेख रहेका थिए भने चालु आवको साउन महिनासम्ममा १ करोड ३७ लाख ७ हजार २५१ सक्रिय पोलिसी रहेका छन् ।

पछल्लो समय बीमाको दायरामा आउने संख्या घट्नुमा आर्थिक सिथिलता मुख्य काराण रहेको नेपाल बीमा प्राधिकरणका पूर्व कार्यकारी निर्देशक राजुरमण पौडेलको भनाइ छ । आर्थिक शिथिलतासँगै कम्पनीहरुले नयाँ योजनामा पनि ल्याउन नसक्नु अर्को कारण भएको उनको भनाइ छ । ‘मर्जरका कारणले केही व्यपार बढ्नुपर्ने भए पनि नयाँ पोलिसिहरु आउन नसक्दा केही समस्या भयो कि,’ उनले भने ।

बीमा शुल्क बढी हुनुमा ठूला पोलिसीहरु आएका कारणले बढेको हुन सक्ने उनको भनाइ छ । बीमा गराउनेको संख्या घट्नु नकारात्मक कुरा हो । यो विषयमा बीमा कम्पनीहरु र प्राधिकरणले पनि सोच्नु पर्ने देखिन्छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal