Skip to content
Prabhu

वाणिज्य बैंकमध्ये १९ वटाले लाभांश घोषणा गर्न बाँकी, ४ बैंकले लाभांश वितरण गर्न नसक्ने, कुनको लाभांश दिने क्षमता कति ?

nabil

काठमाडौं । अहिले बोनसको सिजन हो । अहिले कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषाण गरिरहेका छन् । हालसम्म गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ३ दर्जन बढी कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । अहिलेसम्म लाभांश घोषणा गर्नेमा अधिकांश म्युचुअल फण्डहरु रहेका छन् । त्यस्तै केही हाइड्रोपावर र लघुवित्त कम्पनी रहेका छन् ।

गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने कम्पनीहरुमध्ये अहिलेसम्म एउटा मात्रै वाणिज्य बैंक रहेको छ । वाणिज्य बैंकहरुमध्ये अहिलेसम्म एभरेष्ट बैंकले मात्रै लाभांश घोषणा गरेको छ ।

यो बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी १५.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । २० वटा वाणिज्य बैंकमध्ये यो सबैभन्दा धेरै लाभांश वितरण गर्न सक्ने क्षमता भएको बैंक हो । यो बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २९.८६ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

अहिलेसम्म एभरेष्ट बैंकबाहेक अन्य १९ बैंकले लाभाशं घोषणा गरेका छैनन् । १९ वटा मध्ये ४ वटा बैंकको गत आवको मुनाफाबाट लाभांश दिन सक्ने अवस्था देखिँदैन । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तीय विवरणअनुसार नेपाल इन्भेस्टमेन्ट मेघा, हिमालयन, कुमारी र एनआईसी एसिया बैंकले लाभांश वितरण गर्ने सक्ने अवस्था छैन ।

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको नाफा ३ अर्ब ४३ करोड भन्दा बढीले ऋणात्मक रहेको छ । त्यस्तै हिमालय बैंकको ५ अर्ब ७८ करोड, कुमारी बैंकको ३ अर्ब ७८ करोड र एनआईसी एसिया बैंकको मुनाफा २ अर्ब ३० करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

गत आवको विवरण अनुसार एभरेष्टपछि सबैभन्दा उच्च लाभांश वितरण क्षमता भएको बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक हो । यो बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता २६.५ प्रतिशत रहेको छ । बैंकले गत आवमा आफ्ना सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो बैंकले यो वर्षका लागि लाभांश घोषणा गर्न बाँकी रहेको छ ।

वित्तीय विवरणअनुसार गत लभांश वितरण गर्न बाँकी रहेका बैंकमध्ये कृषि विकास बैंकको लाभांश वितरण गर्ने क्षमता १७.३७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो बैंकले आफ्ना लगानीकर्तालाई ९.२४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता भए पनि लाभांश भने दिएन् । गत आवमा वितरण योग्य मुनाफा बढाएको यो बैंकले लाभांश घोषणा गर्न भने बाँकी रहेको छ ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता १४.२६ प्रतिशत रहेको छ । गत वर्ष यो बैंकले ११ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै लाभांश घोषणा गर्न बाँकी रहेको नेपाल एसबीआई बैंकको यस्तो क्षमता १०.७६ प्रतिशत रहेको छ । यो बैंकको गत वर्ष यस्तो क्षमता १४.७० प्रतिशत रहेको थियो र १०.५५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई सानिमा बैंक १०.४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमतामा रहेको छ । गत वर्ष यो बैंकले आफ्ना सेयरधनीलाई १४.७० प्रतिशत लाभांश वितरण गरेको थियो । यो बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट गत वर्ष १७.७८ प्रतिशत रहेको थियो । यो वर्ष एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास, नबिल, नेपाल एसबिआई र सानिमा बाहेकका अन्य बैंकको लाभांश क्षमता १० प्रतिशत भन्दा कम रहेको छ ।

त्यस्तै गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्राइम कमर्सियल बैंकले ६.१८ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । यस्तै, लक्ष्मी सनराइजले ५.५० प्रतिशत, नेपाल बैंकले ५.२४ प्रतिशत, प्रभुले ५.२ प्रतिशत, सिटिजन्स बैंकले ४.३४ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.०१ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्छन् ।

सबैभन्दा अब्बल मानिने ग्लोबल आइएमई बैंकले यो वर्षका आफ्ना सेयरधनीहरुलाई ३.०६ प्रतिशत लाभांश बाँडन् सक्ने क्षमता देखिन्छ । यो बैंकले अघिल्लो आवमा भने बैंकको यस्तो क्षमता ९.०७ प्रतिशत रहेको थियो । गत वर्ष आफ्ना सेयरधनीलाई ग्लोबल आइएमईले ९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

गत आवको नाफाबाट सिद्धार्थ बैंकको लाभांश दिन सक्ने क्षमता २.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको मुनाफाबा यो बैंकले ४.२१ प्रतिशत लाभांश वितरणको क्षमता रहेको थियो । गत आवको मुनाफाबाट एनएमबी बैंकको लाभांश क्षमता १.३ प्रतिशत रहेको छ । अघिल्लो आवमा यो बैकको लाभांश क्षमता ८.२५ प्रतिशत रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal