Skip to content
Prabhu

सुदूरपश्चिम प्रदेशसभाः चालु आर्थिक वर्षको बजेट पारित

nabil

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ सहित समग्र बजेट पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए।

यसअघि बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै आर्थिक मामिलामन्त्री थापाले सरकारले सुशासन र आर्थिक पारदर्शितासहित प्रदेशको समृद्धिका लागि इमानदार भएर बजेट ल्याएको स्पष्ट पारे ।

मन्त्री थापाले बिचौलियाको चलखेलमा बजेट निर्माण नभएको र कसैले बिचौलियाको प्रभावमा परेर बजेट ल्याइएको प्रमाण पेस गरेमा त्यस्तो योजना कार्यान्वयन नगर्ने प्रतिबद्धता व्यक्त गरे।

बजेटमाथिको आज भएको छलफलमा प्रतिपक्षी दलका सदस्यले बजेट निर्माणको प्रक्रियामा प्रदेशसभा सदस्यले दिएको सुझाव विपरीत बजेट आएको भन्दै असन्तुष्टि जनाए । प्रतिपक्षी सदस्यले बजेट न्यायोचित नभएको र बजेट निर्माण गर्दा बिचौलियाको चलखेल हुन नदिन मुख्यमन्त्रीले गरेको प्रतिवद्धताको विपरीत बजेट आएको बताए ।

सत्तापक्षीय दलका सदस्यले बजेट सकारात्मक रहे पनि छुटेका विषय बजेटमा समेट्नुपर्ने र बजेट निर्माण प्रक्रियामा प्रदेशसभाका सदस्यको भूमिकालाई स्थापित गर्नुपर्ने बताए । बजेटमाथिको छलफलमा सत्तापक्षका प्रदेशसभा सदस्य सन्तोषी शर्मा थापा, दमनबहादुर भण्डारी, धर्मराज पाठक र डम्मरी महराले भाग लिएको थियो ।

प्रतिपक्षी दलका सदस्य शिवसिंह ओली, प्रकाश रावल, दीर्घबहादुर सोडारी, लक्ष्मी विक र जानकीदेवी कुवँरले भाग लिएका थिए।

बैठकमा आर्थिक मामिलामन्त्री थापाले पेस गरेको ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१’ र ‘आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ माथि छलफल गरिएको थियो ।

सभामुख भीमबहादुर भण्डारीले बैठकमा प्रदेशसभामा रिक्त रहेका सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिका सभापतिको निर्वाचन यही असोज ११ गते तोकिएको जानकारी गराए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको तत्कालीन सरकारले असार १ गते प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेट छलफल हुन नपाउँदै सरकार अल्पमतमा परेपछि पारित हुन नसकेर बजेट अलपत्र परेको थियो । उक्त बजेट पारित नहुँदा प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो ।

नेपाली कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठन भएको नयाँ सरकारले यही भदौ ३१ गते साविकमा प्रस्तुत गरिएको बजेटमा समान्य हेरफेर एवं परिमार्जन गरेर अर्को बजेट ल्याएको हो ।

सरकारले गत भदौ ३१ गते चालु आर्थिक वर्ष २०८१/८२ का लागि रु. ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal