काठमाडौं । घरजग्गा कारोबारबाट भदौ महिनामा ३ अर्बभन्दा बढीको राजश्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दोस्रा महिना भदौमा ३ अर्ब ९ करोड २ लाख ५९ हजार १५२ रुपैयाँ राजश्व संकलन भएको हो ।
विभागको तथ्यांक अनुसार भदौ महिनामा रजिष्ट्रेसन शुल्कबापत १ अर्ब ९७ करोड ६० लाख २८ हजार ४२३ रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै यो अवधिमा पुँजीगत लाभकर बापत १ अर्ब १३ करोड १५ लाख ६५ हजार १२३ रुपैयाँ राजश्व संकलन भएको छ ।
त्यस्तै, भदौ महिनामा सेवा करबापत २५ करोड ५५ लाख ९८ हजार ७०१ रुपैयाँ राजश्व संकलन भएको छ भने मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत २७ करोड ३८ लाख ६ हजार ९९४ रुपैयाँ राजश्व संकलन भएको छ ।
विभागको तथ्यांकअनुसार भदौ महिनामा विलम्ब शुल्कबापत ३ लाख ५७ हजार ३५७ रुपैयाँ, डोर सुविधा शुल्कबापत ३ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन भएको छ । भदौ महिनामा देशभरका मालपोत कार्यालय मध्ये सबै भन्दा धेरै राजश्व संकलन मालपोत कार्यालय लगनखेल ललितपुरले संकलन गरेको छ । यो कार्यालयले भदौ महिनामा ३० करोड ६१ लाख ५८ हजार ६४० रुपैयाँ राजश्व संकलन गरेको छ ।
त्यस्तै यो अवधिमा धेरै राजश्व संकलन गर्ने मालपोत कार्यालयको दोस्रो नम्बरमा डिल्लीबाजार मालपोत कार्यालय रहेको छ । यो कार्यालय भदौ महिनामा २७ करोड १३ लाख ८५ हजार ८ सय ६७ रुपैयाँ राजश्व उठाएको छ । त्यसैगरी, भदौ महिनामा मालपोत कार्यालय कलंकीले २६ करोड ८१ लाख ३१ हजार १ सय २५ रुपैयाँ, भक्तपुर मालपोत कार्यालयले २४ करोड ७५ लाख १२ हजार ८८० रुपैयाँ, कास्की कार्यालयले १२ करोड ९२ लाख १२ हजार ४२२ रुपैयाँ र चाहविल, काठमाडौंले १२ करोड ३७ लाख २९ हजार ९३ रुपैयाँ रकम राजस्व उठाएको छ ।
यस्तै, इनरुवा, सुनसरीले ९ करोड ९१ लाख २५ हजार ८९६ रुपैयाँ, चितवनले ८ करोड ९० लाख ८३ हजार ७ सय ५७ रुपैयाँ, भद्रपर, झापाले ५ करोड ५५ लाख १८ हजार ५ सय ७७ रुपैयाँ र वागलुङले २ करोड १४ लाख ७८ हजार २ सय १३ रुपैयाँ राजश्व संकलन गरेको छ ।
विभागको तथ्यांक अनुसार भदौमा ३२ हजार ७ सय ९८ वटा घरजग्गा किनबेच भएका छन् । विभागको तथ्यांकअनुसार पाँच शिर्षकमा १ लाख ८ हजार ३८ प्रकृतिको घरजग्गासम्बन्धी काम भएको हो ।
भदौ महिनामा ३ हजार ८८८ वटा नामसारीको काम भएको छ । यस्तै, ९ हजार २७२ वटा संशोधन हुदाँ २ हजार ३८८ वटा हालसाबिक भएको छ । यसैगरी ३६ हजार ८१९ वटा जग्गा रोक्का हुदाँ २५ हजार २६१ वटा जग्गा फुकुवा भएका छन् । भदौमा ३५ हजार ६८६ वटा जग्गाको लिखत पारित गरेको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्