एजेन्सी । अमेरिकाले राष्ट्रिय सुरक्षाका कारण कार, ट्रक र बसमा चीन र रुसमा निर्माण भएका हार्डवेयर र सफ्टवेयरलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकी अधिकारीहरुले अटो ड्राइभिङ र कारलाई अन्य नेटवर्कसँग जोड्ने सफ्टवेयरमार्फत शत्रुहरुले सहजै रिमोटबाट नियन्त्रण गर्न सक्ने आकलनपछि उक्त तयारी गरेको हो ।
अमेरिकामा चिनियाँ वा रुसी सफ्टवेयरको प्रयोग भएका कारको संख्या भने न्यून नै छ । त्यहाँकी वाणिज्य सचिव जिना रैमन्डोले सरकारको उक्त कदम अमेरिकाको सुरक्षाका लागि निकै फलदायी हुने बताइन् । “हाल अमेरिकी सडकमा गुड्ने कार, क्यामेरा, माइक्रोफोन, जीपीएस ट्र्याकिङ र अन्य प्रविधिहरू इन्टरनेटसँग जडान गरिएको छ । एउटा विदेशी शत्रुले यसबारेमा जानकारीमा पहुँच पाएमा यसले हाम्रो राष्ट्रिय सुरक्षामा गम्भीर जोखिम पैदा गर्न सक्ने सम्भावना छ, र अमेरिकी नागरिकहरूको गोपनीयता पनि खतरामा पर्न सक्छ”, उनले भनिन् ।
अमेरिकाको उक्त तयारपिछि चिनियाँ अधिकारीहरूले अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणाका आधारमा चिनियाँ कम्पनीहरू लक्षित गरेको आरोप लगाएका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “चीन अमेरिकी पक्षलाई बजार सिद्धान्तहरूको सम्मान गर्न र चिनियाँ उद्यमहरूका लागि खुला, निष्पक्ष, पारदर्शी र गैर–भेदभावपूर्ण व्यवसायिक वातावरण प्रदान गर्न आह्वान गर्दछ ।”
यदि यो नियम लागू भयो भने चीनको कार उत्पादन आपूर्ति शृङ्खलामा अमेरिकाको उपस्थितिलाई सीमित गर्नेछ । यसअघि ह्वाइट हाउसले इलेक्ट्रिक कार, इलेक्ट्रिक सवारी साधनका ब्याट्रीहरू र अन्य वस्तुहरूमा समेत करहरू बढाएको थियो । यसले चिनियाँ निर्मित कार्गो क्रेनहरूको आयातमा समेत प्रतिबन्ध लगाइसकेको छ । अमेरिकाले यो प्रस्ताव २०२७ मोडल वर्षदेखि लागू गर्ने र हार्डवेयरसम्बन्धी नियमहरू तीन वर्षपछि कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्