काठमाडौं। पछिल्लो समय धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा आईपीओ, एफपीओ, हकप्रद र डिबेन्चर जारी हुन पाएको छैन । धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि अहिलेसम्म धितोपत्र बोर्डले पूर्णकालीन अध्यक्ष पाउन सकेको छैन ।
अर्थ मन्त्रालयका प्रनिधिका रूपमा अध्यक्षको जिम्मेवारीमा गएका सहसचिवहरुले आईपीओको स्वीकृत दिन सकेका छैनन् । धितोपत्र बोर्डमा अध्यक्षका रूपमा गएका सहसचिव नरेन्द्र रानाले रिलायन्स स्प्रिङलाई आईपीओ जारी गर्ने अनुमति दिए पनि विवादका कारण रोकिएको छ ।
अहिले धितोपत्र बोर्डमा आईपीओ, एफपीओ, हकप्रद तथा डिबेन्चर जारी गर्नका लागि विभिन्न कम्पनीहरुले आवेदन दिएका छन् । आवेदन दिएका कम्पनीहरु अहिले स्वीकृतिको प्रक्रियामा छन् । तर, बोर्डबाट तत्काल स्वीकृति हुने अवस्था भने देखिँदैन ।
बोर्डको तथ्यांकअनुसार अहिलेसम्म साढे १७ अर्ब रुपैयाँको डिबेन्चर पाइपलाइनमा रहेको छ । ७ वटा बैंक तथा वित्तीय संस्थाको साढे १७ लाख कित्ता डिबेन्चर अहिले धितोपत्र बोर्डको स्वीकृतिको प्रतिक्षामा रहेको छ । तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति हुने र पाइपलाइनमा रहेका डिबेन्चरले स्वीकृति पाउने सम्भावना भने निकै कम देखिन्छ । अहिले धितोपत्र बोर्डमा २०७९ साल भदौ १४ देखि आवेदन दिएका कम्पनीको डिबेन्चर पनि पाइपलाइनमा रहेको छ । त्यो मितिमा राष्ट्रिय वाणिज्य बैंकको ७ वर्षे अवधिको ८ प्रतिशत ब्याजदर रहेको आरबीबीए डिबेन्चर २०८७ जारीका लागि आवेदन दिएको थियो ।
यो बैंकले आवेदन दिएको ३ वर्ष बितिसकेको छ । यो बैंकले २५ लाख कित्ता डिबेन्चर जारी गर्नका लागि अनुमति माग गरेको थियो । २ लाख ५० हजार कित्ता बराबरको २ अर्ब ५० कराड मूल्यको डिबेन्चर अहिले पनि पाइपलाइनमा रहेको छ । त्यसमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १५ लाख कित्ता प्राइभेट प्लेसमेनका लागि रहेको छ । त्यस्तै अहिले डिबेन्चर पाइपलाइनमा रहेका अन्य कम्पनीहरुमा आईसीएफसी फाइनान्स, प्राइम बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, एभरेष्ट बैंक र सिटिजन्स बैंक छन् ।
आईसीएफसी फाइनान्सले ३ लाख कित्ता डिबेन्चरका लागि स्वीकृत माग गरेको थियो । यो कम्पनीले ३ लाख कित्तामध्ये १ लाख २० हजार सर्वसाधारणका लागि र १ लाख ८० हजार कित्ता प्राइभेट प्लेसमेनका लागि छुट्याएर स्वीकृति माग गरेको थियो । यो फाइनान्सले २०८१ साल असार १८ गते स्वीकृति माग गरेर आवेदन दिएको थियो । यो कम्पनीले ३० करोड रुपैयाँको डिबेन्चर जारी गर्ने गरी स्वीकृति माग गरेको छ । फाइनान्सले ७ वर्षको ९ प्रतिशत ब्याजदर रहेको आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८ जारी गर्न खोजेको छ ।
त्यस्तै अहिले पाइपलाइनमा रहेको अर्को डिबेन्चर हो १० वर्षको ८ प्रतिशत ब्याजदर रहेको प्राइम डिबेन्चर २०९१ । यो डिबेन्चर जारी गर्नका लागि बैंकले २०८१ साउन २ गते धितोपत्र बोर्डमा स्वीकृतिका लागि आवेदन दिएको थियो । यो बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता डिबेन्चर जारी गर्न स्वीकृति माग गरेको छ । जसमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १८ लाख कित्ता प्राइभेट प्लेसमेनका लागि बिक्री गरिने छ ।
त्यस्तै २०८१ साल जेठ २ गते नेपाल एसबीआई बैंकले १० वर्षको ७ प्रतिशत वार्षिक ब्याजदर भएको नेपाल एसबीआई बैंक डिबेन्चर २०९० जारी गर्नका लागि स्वीकृति माग गरेको छ । यो बैंकले पनि सर्वसाधारणका लागि १२ लाख र प्राइभेट प्लेसमेनका लागि १८ लाख गरी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता डिबेन्चर जारी गर्न स्वीकृतिको प्रतिक्षामा रहेको छ । त्यस्तै नबिल बैंकले पनि डिबेन्चर जारी गर्नका लागि २०८१ साल असार ४ गते दिएको आवेदन स्वीकृत हुन सकेको छैन । यो बैंकले ८ वर्षे अवधिमो ८ प्रतिशत नै वार्षिक ब्याजदर भएको नबिल डिबेन्चर २०८९ जारीका लागि धितोपत्र बोर्डको स्वीकृतिको प्रतिक्षा गरिरहेको छ ।
यो बैंकले पनि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता डिबेन्चर जारी गर्ने गरी स्वीकृत माग गरेको छ । यो बैंकले पनि १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता प्राइभेट प्लेसमेनकाका लागि छुट्याएको छ । त्यस्तै १० वर्षको ७.५० प्रतिशत वार्षिक ब्याजदर रहेको एभरेस्ट बैंकको एभरेस्ट बैंक डिबेन्चर २०८९ पनि अहिले पाइपलाइनमा नै रहेको छ ।
यो बैंकले २०८१ असार २० गते उक्त नाम ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता डिबेन्चर जारी गर्न स्वीकृतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । यो डिबेन्चरको अवस्था पनि त्यस्तै नै छ ।
यो बैंकको ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १८ लाख कित्ता प्राइभेट प्लेसमेनका लागि भनेर तोकिएको छ । सिटिजन्स बैंकले २०८० सालको माघ महिनामा १० वर्षे अवधिको ८.५० प्रतिशत वार्षिक ब्याजदर रहेको सिटिजन्स बैंक डिबेन्चर २०९० जारी गर्नका लागि स्वीकृति माग गरेको थियो । तर, यो बैंक पनि अहिले स्वीकृतिको प्रतिक्षामा नै छ । यो बैंकले पनि ३ अर्ब बराबरको ३० लाख कित्ता डिबेन्चर जारी गर्नका लागि बोर्डसँग अनुमति माग गरेको छ । जसमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १८ लाख कित्ता प्राइभेट प्लेसमेनका लागि छुट्याइएको छ ।
के हो डिबेन्चर ?
डिबेन्चरलाई नेपालीमा ऋणपत्र भनिन्छ । बैंक तथा वित्तीय संस्थाका लागि डिबेन्चर पूरक पुँजीका रूपमा जारी गरेर अस्थायी रूपमा आफ्नो पुँजी पर्याप्तता कायम गर्ने औजार हो । यो सधैं आवश्यक हुने औजार होइन । संस्थाहरुले पुँजी पर्याप्तताका लागि हकप्रद जारी गर्ने विकल्प रहन्छ । तर, सधंै त्यसो गर्न मिल्दैन । ऋणपत्र पुँजी पर्याप्तताका लागि जारी गरिने अरू प्रकारका औजारभन्दा फरक हुन्छ ।
यसको अंकित मूल्य हुन्छ । कम्पनीले साधारण सेयर र अग्राधिकार सेयरलाई लाभांश बाँड्नुअघि नै ऋणपत्रका लगानीकर्तालाई ब्याज भुक्तानी गर्छन् । ऋणपत्र जारी गरेको संस्था नोक्सानीमा गए पनि लगानीकर्ताले प्राप्त गर्ने ब्याजमा कुनै फरक पर्दैन । यसले पुँजी पर्याप्ततालाई मद्दत गर्दछ । बैंक तथा वित्तीय संस्थाले ऋणपत्र खरिदकर्तालाई मुद्दती निक्षेपभन्दा बढी प्रतिफल दिने गरी आह्वान गर्छन् ।
प्रतिक्रिया दिनुहोस्