Skip to content
Prabhu

गैरकानुनी सुन आउनबाट रोक्नका लागि सुनको भन्सार घटाउनु र सुनको कोटा बढाउन आवश्यक छः अध्यक्ष रसाइली

nabil

काठमाडौं । पछिल्ला दिन सुनको मूल्य दिन दिनै रेकर्ड कायम गरिरहेको छ । यो साताको पहिलो दिन आइतबारदेखि बुधबारसम्म सुनको मूल्यले नयाँ रेकर्ड कायम गरिरहेको छ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले दिनप्रतिदिन नै कीर्तिमान बनाइरहँदा सुनको मूल्य बढ्नुको काराण के हो ? सुनको मूल्य नेपाली बजारमा कतिसम्म पुग्ला भन्ने विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीसँग लगानी न्युजका महेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा आउनुभएको छ । के छन् महासंघलाई थप बलियो बनाउने योजनाहरू ?

सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा आएपछि विभिन्न योजनाका साथ अघि बढेको अवस्था छ । महासंघले व्यवसायलाई सहज रुपमा सञ्चालन गर्नका लागि राज्यलाई सुनचाँदी व्यवसायीका लागि निर्देशिका निर्माणका लागि पहल गरिरहेका छौं । लामो समयदेखि यो क्षेत्रका लागि आवश्यक पर्ने नियम कानुनहरू नबनेको अवस्था छ । यसमा अहिलेको नयाँ कार्यसमितिले विभिन्न कामहरू गरिरहेको छ ।

केही समयअघि बनेपामा कार्यतर्जुमा गोष्ठीको आयोजना गरेर २५ बुँदामा सुझानहरू तयार पारेका छौँ । सबैभन्दा मुख्य कुरा भनेको व्यवसाय मैत्री निर्देशीका छैन । यति महँगो सुनको कारोबार गर्ने व्यवसायीहरूका लागि त्यसको ऐन, नियम, कानुन पनि छैन । १२ वर्षदेखि हामीले राज्यलाई निर्देशिका देउ–देउ भनेर भनिरहेका छौँ । अहिले पनि हाम्रो पहिलो प्राथमिकता भनेको निर्देशिका नै हो ।

व्यवसायीहरू निर्देशिकाका लागि पूर्णरुपमा तयार अवस्थामा रहनका लागि आफ्नो तर्फबाट काम गरिरहेका छौँ । निर्देशिकामा समावेश गर्नुपर्ने विषयहरू लेख्दै छौँ । यसअघि २०७३ सालमा जुन निर्देशिका लेख भएको थियो त्यसलाई अहिलेको समय सुहाउँदो बनाएर लेख्ने काम गरिरहेका छौँ । अर्को कुरा भनेको कच्चा पदार्थमा राज्यले अहिले भन्सार दर बढाएको छ । भारतमा भन्दा यहाँ कच्चा पदार्थको भन्सार दर १४ प्रतिशतले बढिरहेको छ । जसले गर्दा हाम्रो बजार अस्थव्यस्त भइरहेको छ । भन्सार घटाउनका लागि पनि हामीले राज्यलाई दबाब दिइरहेका छौं । प्रधानमन्त्री अमेरिकाबाट फर्केपछि भन्सार दर घट्छ भन्ने आश्वासन राज्यबाट पाएको अवस्थ छ । कति घटाउँछ त्यो पछि जानकारी हुने कुरा भयो । भारतमा अहिले ६ प्रतिशत रहेको छ । हामीले सन्सार शुल्कलाई ८ प्रतिशतमा झार्नुपर्छ भनिरहेका छौं । अथवा १० प्रतिशत पनि हुनसक्छ । राज्यले कसरी सम्बोधन गर्छ हाम्रो त ८ प्रतिशत हुनुपर्छ भन्ने हो । हाम्रो माग भनेको भन्सारदर भारतमा भन्दा नेपालमा २ प्रतिशत बढी हुनुपर्छ भन्ने हो ।

अर्को काम भनेको नयाँ कार्यसमितिले चोरीको सुनको विषयमा व्यवसायीले पाएका दुःखको विषय छ । बिना बिलको सुन बिक्री गर्दा व्यवसायीहरूले धेरै कानुनी झमेलाहरू पनि व्यहोर्नु परिरहेको छ । यसलाई कानुनी रूपमा कसरी समाधान गर्न सकिन्छ भनेर पनि काम गरिरहेका छौं । व्यवसायीका यावद समस्याहरू समाधानका लागि लाग्नु हाम्रो दायित्व र कतव्र्य हो । त्यसभन्दा पनि अहिले निर्देशिकाका लागि धेरै खटिरहेका छौँ । निर्देशिका आएको खण्डमा धेरै समस्याहरू समाधान हुन्छन् । निर्देशीका नआउँदासम्मका आन्तरिक रुपमा सुनचाँदी व्यवसायीका समस्याहरूलाई समाधान गर्नका लागि काम गर्नुपर्छ । व्यवसायीहरू सुरक्षित रहने भन्ने विषयमा पनि हाम्रो ध्यान केन्द्रित छ ।

सुनको मूल्यले दिनदिनै नयाँ कीर्तिमान कायम गरिरहेको छ ? सुन के कारणले यसरी बढिरहेको छ ?

सुनको मूल्य बढ्ने घट्ने कुरा हाम्रो कारणले भन्दा पनि बाहिरको कारणले हुन्छ । सुनको मूल्य निर्धारण पनि अन्तर्राष्ट्रिय रुपमा नै हुन्छ । नेपाल आउँदा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको भन्दा २१ प्रतिशतले महँगो हुन्छ । २० प्रतिशत राज्यको भन्सार र ०.५ प्रतिशत व्यवसायीको र ०.५ प्रतिशत बैंकहरूको मार्जिन राखिएको हुन्छ । यसरी बिक्री गर्दा व्यवसायी र बैंकको मार्जिन तथा राज्यले लिने भन्सार गर्दा नेपाली बजारमा सुनको मूल्य २१ प्रतिशतले महँगो भइहाल्छ ।

अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्य बढ्नुको कारण भनेको युरोपका राष्ट्रिय बैंकहरूले ब्याजदर घटाए । त्यस्तै अमेरिकामा पनि बैंकहरूले ब्याजदर घटाएर ५ प्रतिशत बनाएको अवस्था छ । जसले गर्दा लगानीकर्ताहरू सुनमा आकर्षित भएको अवस्था छ । युरोपमा बैंकको ब्याजदर ३.५ प्रतिशत कायम भएको छ । पैसा डिपोजिट गर्दा कम ब्याज आउने भए पनि लगानीकर्ताहरू सुन किन्नतर्फ लागेको देखिन्छ ।

अर्कोतर्फ ठूला राष्ट्रहरूले छुट्टै समिति पनि गठन गरेका छन् । उनीहरूले छुट्टै करेन्सीको तयारी पनि गरिरहेका छन् । उनीहरूले डलरलाई कमजोर बनाउन खोजिरहेका छन् । अर्कोतर्फ भारत, रुस र चीनले ठूलो मात्रामा सुन खरिद गरेर सञ्चित गरेको अवस्था छ । जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।

सुनको मूल्य तोलाको ८ हजार हुँदा पनि महँगो नै थियो अहिले १ लाख ६० हजारभन्दा माथि पुगेको अवस्था छ । किन सधैं सुनको मूल्य महँगो हुन्छ ?

एक पटक बढेपछि जुनसुकै वस्तुको मूल्य पनि घट्ने भन्ने हुँदैन । तर, नेपालमा ८ हजार रुपैयाँ तोलामा हुँदा पनि सुन महँगो थियो भने अहिले पनि सोही अनुपातमा महँगो छ । यस्तो किन भयो भने सुनको मूल्य जुन रुपमा बढ्यो त्यो अनुसार नेपालीको आम्दानी बढ्न सकेन् । आम्दानी र सुनको मूल्यको फरक निकै धेरै भएका कारणले सुन जहिले पनि महँगो भएको हो ।

तोलाको ८ हजार रुपैयाँ हुँदा नेपालीको आम्दानी पनि त्यहीअनुसार थियो । अहिले नेपालीको आम्दानी जति छ त्यसले सुन किन्नका लाग निकै सोच्नुपर्ने देखिन्छ । यस कारणले सुन जहिले पनि महँगो लाग्छ । सुन भनेको संसारमा सबैभन्दा कम उत्पादन हुने वस्तु हो । कम उत्पादन हुने वस्तुको माग बढी हुने कुरा स्वाभाविक नै हो । अर्कोतर्फ सुनलाई नगदका रुपमा नै हेरिन्छ । जहाँ पनि चल्छ ।

नेपालमा सुन जतिसुकै महँगो भए पनि आवश्यकताअनुसार खरिद हुने गरेको छ । जन्मदेखि मृत्युसम्म सुन आवश्यक पर्ने भएकाले सुनको खरिद पनि त्यहीअनुसार भइरहेको छ । अहिले पनि दैनिक रूपमा १२ देखि १५ किलोसम्म सुनको बिक्री भइरहेको छ । आफ्नो क्षमताले भ्याएसम्म सुन खरिद भएको नै छ । हिजो सस्तो हुँदा र अहिले महँगो हुँदाको अवस्थामा सुनको खरिद अहिले अझ धेरै ओजनदार रुपमा खरिद भइरहेको अवस्था छ ।

सरकारले तोकेको सुनको कोटाले व्यवसाय गर्न पर्याप्त हुन्छ ?

हाम्रा लागि तोकिएको कोटा पर्याप्त छैन । हामीले राष्ट्र बैंकलाई १५ दिनअघि मात्रै यो विषयमा ध्यानाकर्षण गराएका छौँ । अहिले व्यवसायीलाई दैनिक २० किलोको कोटा तोकिएको छ । तर, त्यो पर्याप्त हुँदैन । हामीलाई दैनिक ३० किलो र सिजनमा थप १० किलो, १० किलो गहना उत्पादन गर्ने कम्पनीहरूलाई गरेर ५० किलो सुनको आवश्यकता छ । यस विषयमा हामीले राज्यलाई आग्रह गरिरहेका छौँ । कम्तीमा दैनिक रुपमा ३५ किलो सुनको कोटा निर्धारण भयो भने बजार मौलाएको तस्करी पनि अन्त्य हुन्छ ।

सिजनको समयमा ४५ किलोसम्म सुनको माग हुन्छ भन्नु हुन्छ । सरकारले तोकेको कोटा दैनिक २० किलो छ । यो अवस्थामा बजारको मागलाई कसरी पूरा गर्नुहुन्छ ?

बजारको मागलाई हामीले पुरानो स्टक रहेको सुनले पनि काम गरिरहेको छ । सुन कमी भए पछि कालोबजारीबाट पनि सुन आउँछ । अर्को कुरा भन्सारका कारणले पनि बैंकबाट सुन उठाउनका लागि गह्रो छ । विदेशबाट आउने २५ ग्राम र ५० ग्रामले पनि बजारलाई केही मात्रामा सहयोग पु¥याएको अवस्था छ । अवैध रुपमा आएको सुन पनि बजारमा आउछ । अहिले पुरानो सुनले माग धानिरहेको अवस्था छ । भन्सार घटाएको खण्डमा र कोटा बढाएको खण्डमा कालोबजारी रोक्नका लागि सहयोग पुग्छ । कालोबजार रोक्ने हो भने राज्यले दैनिक रुपमा ५० किलो सुन आयात गर्न दिनु पर्छ र भन्सार घटाउनु पर्छ ।

ग्राहकहरूले बढेको समयमा सुनको बिक्री गर्नका लागि समस्या र सस्तो भएको समयमा किन्नका लागि समस्या हुने गरेको गुनासो गर्छन् । किन यस्तो हुन्छ ?

यस्तो कहिले कही हुन सक्छ । घटेको बेला बैंकमा सुन पाउन गाह्रो हुन्छ । बढी बिक्री हुने कारणले ढिक्का सुन जुन व्यवसायीले किन्न पाउनु हुन्छ । त्यो सुन राष्ट्र बैंकको नियमअनुसार प्यान नम्बर भएका व्यक्तिलाई मात्रै ढिक्का सुन बिक्री गर्नु भन्ने कार्यविधि छ । सुन व्यवसाय गरेको गरगहना बनाउनेलाई मात्रै बिक्री गर्न पाइन्छ भन्ने छ ।

त्यसैले अधिकांश व्यवसायीले ढिक्का सुन बिक्री गर्दैनन् । बढेको बेला ग्राहकको सुन नै धेरै फिर्ता आउँछ । बढ्दाखेरि किन्नेभन्दा बेच्ने धेरै हुन्छ । व्यवसायले खरिद नगर्ने भन्ने हुँदैन । आफूले बिक्री गरेको सामान किन्छन् । पैसा छैन भने पनि एक दुई दिनको भाका राखेर भए पनि व्यवसायीहरूले सुन किन्छन् । यस्तो गुनासो महासंघमा ग्राहकका तर्पबाट आएको छैन ।

पछिल्लो समय सुनचाँदी व्यवसायीहरूका मुख्य समस्याहरू के–के छन् ? यी समस्या समाधानका लागि कसले के गर्नुपर्ला ?

समस्या समाधान गर्ने भन्ने कुरा फेरि सरकारसँगै गएर ठोकिन्छ । व्यवसायीका समस्याहरू धेरै छन् । भन्सारदर, सरकारले तोकेको कोटा, निर्देशीका नभएको कुरा लगायत धेरै समस्या छन् । यी समस्या समाधान गर्ने भनेको राज्यले नै हो । अहिले सुनचाँदीको बजारमा देखिएको सबैभन्दा ठूलो विकृति भनेको भन्सार नै हो ।

त्यसैले तुरुन्तै भन्सार दर घटाउनुपर्‍यो । ८ प्रतिशतमा भन्सार दर कायम गरियो भने बजारको विकृति हट्छ । त्यस पछि राज्यले व्यवसायीलाई काम गर्नका लागि आवश्यक पर्ने ऐन, नियम, कानुन, निर्देशीकाहरू निर्माण गर्नुपर्छ । साधारण किराना पसलमा त मापदण्ड बनाएर कानुन बनेको अवस्था छ भने सुन जस्तो यत्रो ठूलो व्यवसायमा राज्यले कानुन बनाउने ढिलो गरेकाले कतै सुन तस्कर गर्न पाइँदैन भन्ने कुराले पनि कानुन नबनाएको हो कि भन्ने शंका उत्पन्न भएको छ ।

व्यवसायीले कसरी किन्ने, कसरी बेच्ने, कहाँबाट ल्याउने, कच्चा पदार्थको व्यवस्था राज्यले गरिदिनु पर्यो । राज्यले लगाएको ट्याक्स तिर्नका लागि व्यवसाय तयार छन् । यसका लागि कच्चा पदार्थको व्यवस्था राज्यले गर्नुपर्ने हुन्छ । कच्चा पदार्थको व्यवस्था गर्नुपर्ने अवस्था छ । राज्यको राजस्वमा १२ अर्बको योगदान दिइरहेको क्षेत्रलाई राज्यले हेर्ने नजर फरक हुनुपर्ने आवश्यकता छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal