काठमडौं । यो साता नेप्से परिसूचक करिब साढे ३ प्रतिशत घटेर बन्द भएको छ । गत साता २५७६ दशमलव ७६ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता ९० अंकले घटेर २४९६ दशमलव ७६ विन्दुमा झरेको हो । यो गत साताको भन्दा ३.४९ प्रतिशतले कम हो ।
यो साता सेयर बजार पुरै पाँच दिन नै खुलेको थियो । पाँच दिनमध्ये दुई कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो । यस साताको आइतबार र बुधबार नेप्से परिसूचक बढेको थियो । सोमबार, मंगलबार र बिहीबार घटेको थियो । यो साता सेन्सेटिभ इण्डेक्स पनि २.७१ प्रतिशत घटेको छ । त्यस्तै, यो साता फ्लोट इण्डेक्स ३.२७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९२ प्रतिशत घटेको छ ।
नेप्सेसँगै यो साता दैनिक औषत कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ७ अर्ब ७९ करोडको सेयर खरिदबिक्री भएको सेयर बजारमा यो साता दैनिक औषतमा ५ अर्ब २२ करोडको सेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३३ प्रतिशत अर्थात २ अर्ब ५७ करोड रुपैयाँ घटेको हो ।
त्यसैगरी, यस साता दैनिक औषत सेयर संख्या पनि २७.२६ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २५.८४ प्रतिशत घटेको छ । यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे ३ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४० खर्ब ९७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब ४३ अर्ब रुपैयाँ घटेर ३९ खर्ब ५४ अर्ब रुपैयाँमा सीमित भएको छ ।
यो साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.५८ प्रतिशत घटेको छ । गत साता ३०२४ दशमलव ९० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५९ दशमलव ६६ अंक घटेर २७६५ दशमलव २४ विन्दुमा झरेको छ । यस साता म्युचुअल फण्ड उपसमूहको परिसुचक सबैभन्दा कम १.३३ प्रतिशत घटेको छ ।
अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३५८ दशमलव ४१ अंक घटेको छ । गत साता १२९५० दशमलव ६२ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता घटेर १२५९२ दशमलव २१ विन्दुमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्