भोजपुर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ‘हेर्ने कथा’का पात्र प्रकाश तामाङलाई जग्गा उपलब्ध गराएका छन् । उनले भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल गोरु र हाते ट्याक्टर उपलब्ध गराएका हुन् ।
प्रकाशले आफ्नै पुख्र्याैली गाउँमा कृषि पेसामा आबद्ध हुने इच्छा व्यक्त गरेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमुख्यमन्त्री राईले कृषि गर्न आवश्यकपर्ने जग्गासहति गोरु र हाते ट्र्याक्टर उपलब्ध गराएको बताए । उनले हजारौँ युवा विदेश गइरहेको वर्तमान अवस्थामा प्रकाशले आफ्नै ठाउँमा खेतीकिसानी गर्ने इच्छा गरेकाले आवश्यक सहयोग गरेको उल्लेख गरे ।
पूर्वमुख्यमन्त्री राईले प्रकाशलाई गाउँमा एक उदाहरणीय कृषक बनेर काम गर्नसमेत आग्रह गरे । प्रकाशलाई उनले एक महिना अघि १ लाख रुपैयाँ नगद पनि सहयोग गरेका थिए । पूर्वमुख्यमन्त्री राई पत्नी जाङ्मु इन शेर्पाको पहलमा प्रकाशलाई मालपोत कार्यालय भोजपुरमा उक्त जमिन लिखित पास गरिएको छ । राई पत्नी शेर्पाका नाममा रहेको जग्गा प्रकाशका नाममा पास गरिदिएपछि आज एक कार्यक्रमकाबीच लालपुर्जा हस्तान्तरण गरिएको हो ।
जग्गाको लालपुर्जासँगै कृषि सामग्री पाएपछि प्रकाशले राई दम्पतीले गरेको सहयोगले कृषिकर्ममा लाग्न थप हौसला मिलेको बताए ।
प्रतिक्रिया दिनुहोस्