काठमाडौं । पछिल्लो समय बैंकहरुमा अधिक तरलता बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो सयम बैंकिङ प्राणालीमा ६५ खर्बभन्दा धेरै निक्षेप संकलन भएको छ। यो असोज १० गतेको तथ्यांक हो ।
असोज १० गतेसम्म बैंकिङ प्रणालीमा ६५ खर्ब ३२ अर्ब निक्षेप संंकलन हुँदा कर्जा प्रवाह भने ५२ खर्ब ३८ अर्बको रहेको छ। बिहीबारसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुमा ५८ खर्ब ७ अर्ब निक्षेप रहेको छ भने कर्जा प्रवाह ४६ खर्ब ३७ अर्बको भएको छ । यो अवधिमा अन्य वित्तीय संस्थाहरुमा रहेको निक्षेप संकलन ७ खर्ब २१ खर्ब रहेको छ भने अन्य वित्तीय संस्थाहरुले ६ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार यो अवधिसम्म वित्तीय प्रणालीको सीडी रेसियो ७८.८० प्रतिशत रहेको छ। यो राष्ट्र बैंकले तोकेको सीमाभन्दा कम हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर लगानी गर्न सक्ने व्यवस्था गरेको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको डिपोडिटका कारणले तत्कालै बैंकको ब्याजदर बढ्ने कुनै सम्भावना देखिँदैन । यसो भनिरहँदा सधैं यस्तै अवस्था रहन्छ भन्ने पनि होइन । कुनै समय १७ प्रतिशतसम्म पनि कर्जाको ब्याजदर पुगेको थियो । फेरि पनि कर्जाको ब्याजदर बढ्न सक्छ । तर, अहिले नै बैंकको ब्याजदर बढ्ने कुनै सम्भावना कुनै पनि सूचकले देखिँदैन ।
राष्ट्र बैंकको तथ्यांकअनुसार असोज १३ गतेसम्मको अवधिमा बैंकिङ प्रणालीमा ७८ अर्ब रुपैयाँ अधिक तरलता छ । बैंकिङ प्रणालीमा अधिक तरताल भएका कारण राष्ट्र बैंकले वित्तीय उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीमा रहेको तरलता खिचिरहेको छ ।
अर्कोतर्फ बैंकहरुले कम ब्याजदरमा कर्जा प्रवाहका लागि विभिन्न योजनाहरुसमेत सार्वजनिक गरिरहेका छन् । त्यस्तै असोजका लागि १० वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् ।
प्रतिक्रिया दिनुहोस्