Skip to content

इक्यानको बृहत् शैक्षिक मेला बुधबार, उच्च शिक्षासम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा पाइने

nabil bank

काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा यही असोज १६ गते काठमाडौँको एभरेष्ट होटलमा एक दिन ‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ आयोजना हुनेभएको छ । विदेशी भूमिमा उच्च शिक्षा लिन चाहनेलाई लक्षित गरी आयोजना गर्न लागिएको मेलामा विभिन्न देशका कलेज, विश्वविद्यालयका प्रतिनिधिहरु उपस्थित हुने इक्यानले जनाएको छ ।

इक्यानका अध्यक्ष शेषराज भट्टराईले मेलामा विद्यार्थीहरुले विभिन्न देशको शिक्षाबारे जानकारी लिनुका साथै विदेशी विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउने जानकारी दिए । उनले महामारीपछि पहिलो पटक भौतिकरुपमा मेला आयोजना गर्न लागिएको भन्दै विद्यार्थीले धेरैभन्दा धेरै जानकारी लिनसक्ने बताए । उनका अनुसार मेलामा विद्यार्थी तथा अभिभावकले विभिन्न देशको शिक्षा प्रणाली, नीति नियमका साथै त्यहाँको वस्तुस्थितीबारे पछिल्लो जानकारी पाउनेछन् ।

“नेपाल विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह, शैक्षिक संस्थामा प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी एवम् परामर्श सेवा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो”, अध्यक्ष भट्टराईले भने ।

विद्यार्थीहरुको उच्च शिक्षाको सपना साकार पार्न शैक्षिक मेला महत्वपूर्ण माध्यम हुने उनको भनाइ छ । मेलामा विद्यार्थीले विशेष गरी विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी प्राप्त गर्नेछन् । साथै मेलामा विद्यार्थीहरुले विभिन्न देशका प्रतिनिधिहरुसँग पनि साक्षात्कार गर्न पाउने छन् ।

मेलामा १५ हजारभन्दा बढी विद्यार्थी, अभिभावक तथा सरोकारवालाले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । “मेला विशिष्ट रुपमा अन्तर्राष्ट्रिय मापदण्डअनुरुप तयार पारिएको शिक्षण सामग्री र परामर्शहरु प्रदान गरेर नेपाली विद्यार्थीहरुको ज्ञान, सीप र बौद्धिक क्षमतामा उल्लेखनीय वृद्धि गर्ने अवसर बन्नेछ”, अध्यक्ष भट्टराईले भने ।

इक्यान उपाध्यक्ष तथा मेला संयोजक गीता सिवाकोटीले कोरोना महामारीपछि पहिलो पटक भौतिकरुपमा आयोजना हुन लागेको मेलाले विद्यार्थी र अभिभावकमा सकारात्मक सन्देश प्रवाह हुनेमा विश्वास लिइएको बताइन् ।

वन अप प्रालिको व्यवस्थापनमा आयोजना हुने मेलाको प्रमुख प्रायोजकमा रियल ड्रिम्स एजुकेशनल कन्सलटेन्सी प्रालि रहेको छ भने इन एसोसिएसनका रुपमा भेद इनटरनेशन एजुकेशन प्रालि छ । साथै प्रायोजकमा केआईएसी प्रालि, अर्बिट इन्टरनेशन एजुकेशन प्रालि, नोबेल एजकेशन प्रालि र ग्रेस एजुकेशन प्रालि छन् ।

मेलामा सहभागिता जनाउनका लागि विभिन्न देशका राजदूतावास तथा कूटनीतिक नियोगहरुलाई समेत आग्रह गरिएको छ । यस मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, डेनमार्कलगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime