Skip to content
Prabhu

नदी दोहन र अव्यवस्थित सहरीकरण नै बाढीबाट भएको क्षतिको प्रमुख कारण हो : सन्तोष नेपालसँगको अन्तर्वार्ता

nabil

डा. सन्तोष नेपाल इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट(आईडब्लूएमआई)मा वाटर रिसोर्स तथा क्लाइमेट चेन्जको विषयमा अनुसन्धानकर्ता हुन् । जर्मनीको फ्रेडिरिक शिलर विश्वालयबाट पिएचडी गरेका नेपालसँग नेपालको जलवायु परिवर्तन तथा पानीको विषयमा १६ वर्ष विभिन्न निकायमा काम गरेको अनुभव छ । पछिल्लो समय आएको बाढीले काठमाडौं उपत्यका सहित एक दर्जनभन्दा बढी जिल्ला क्षति भयो । यही विषयमा लगानीन्युजले डा. नेपालसँग गरेको कुराकानीको सम्पादित अंशः

दुई दिनको वर्षाले काठमाडौँ उपत्यकालगायतका धेरै स्थानमा ठूलो क्षति भयो । के पानी परेकै कारण यति ठूलो क्षति भएको हो ? वा हाम्रा अन्य कमजोर रह्यो ?

मुख्यतयः अतिवृष्टि नै हो । छोटो समयमा धेरै पानी परेकाले क्षति भएको देखिन्छ । काठमाडौँमा दुई सय मिलिमिटरभन्दा बढी पानी परेको देखिन्छ । ललितपुरको चापागाउँमा तीन सय मिलिमिटरसम्म वर्षा भएको छ । तुलनात्मक रुपमा हेर्दा यो अतिवृष्टि नै हो ।

विगतमा पनि मनसुनको समयमा बाढीको समस्या देखिएको हो । यसपटकको वर्षामा उपत्यकाका नौ वटा स्टेसनमा रेकर्ड वर्षा मापन गरिएको छ । नेपालमा औसतमा एक वर्षमा एक हजार पाँच सय मिलिमिटर पानी पर्छ । तर पछिल्लो तीन दिनमा मात्रै उपत्यकामा तीन सय मिलिमिटरको हाराहारीमा वर्षा भएको छ । यसरी हेर्दा नेपालमा एक वर्षभरी पर्ने कुल पानीको पाँच भागको एक भाग पछिल्ला दिनमा परेको अवस्था छ । अतिवृष्टिकै कारण खोलामा धेरै ठूलोबाढीले जनधनको क्षति भएको देखिन्छ ।

काठमाडौँ उपत्यकामा भएको क्षतिको कारण नदी दोहन नै हो त ?
यसमा दुई वटा कारण स्पष्ट रुपमा देखिन्छ । पहिलो छोटो समयमा अधिक वर्ष भयो । अधिक वर्षाले काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढ्यो । निकासा सहज भएन । यसो हुँदा नदी क्षेत्र आसपासमा बाढी आउनु स्वभाविक नै हो ।

नदी आसपासका क्षेत्रमा धेरै क्षति भएको छ । यस्तो क्षेत्रलाई हामी ‘फ्लड प्लेन एरिया’ भन्छौँ । नदीमा जलसतह बढी भएको वा बाढीको समयमा नदी दायाँबायाँ जानसक्छ भन्ने आधारमा त्यस्ता क्षेत्रमा भौतिक संरचना नबनाउने भन्ने अभ्यास हुन्छ । तर हामीकहाँ यो अभ्यासलाई लत्याएर नदी क्षेत्र नै अतिक्रमण गरी संरचना निर्माण गर्दा क्षति भएको देखिन्छ । नदी तथा खोलालाई आफ्नो क्षेत्रमै बग्न दिनुपर्छ । यदि हामीले फ्लड प्लेन क्षेत्रमा संरचना नबनाएको भए यति ठूलो क्षति हुने थिएन ।

क्षति हुनुको अर्को कारण, मौसमसम्बन्धी प्रक्षेपण र जोखिम सही तरिकाले प्रयोग गर्न सकिएन भन्ने पनि हो । जल तथा मौसम विज्ञान विभाग,, मौसम पूर्वानुमान महाशाखाले पहिले नै अधिक वर्षाको प्रक्षेपण गरिसकेको थियो । जोखिमबारे जानकारी गराउँदा पनि क्षतिलाई रोक्नका लागि गर्न सकिने सबै प्रयास पनि भएनन् भन्ने लाग्छ ।

वर्षाका कारण विगतमा जस्तै यसपटक पनि विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति भयो । यसले आगामी दिनमा जलविद्युत् आयोजना कस्तो जोखिम हुने देख्नुहुन्छ ?

जलवायु परिवर्तनको कुरा गर्दा अहिले भएको वर्षालाई हामी चरम मौसमी घटनाका रुपमा लिन्छौँ । एस्ट्रिम वेदर इभेन्टमा अतिवृष्टि, अनावृष्टि हुन्छ । छोटो समयमा धेरै पानी पर्ने र लामोसमयसम्म पानी नपर्ने समस्याले जलविद्युत् आयोजनामा असर गर्छ । त्यति मात्रै होइन, खानेपानी र कृषिलगायतका क्षेत्रमा पनि असर पर्छ ।

यस्तो अवस्थामा धेरै पानी मात्रै पर्ने होइन कि पहिरो र बाढीको जोखिम बढ्छ । अघिल्लो वर्ष पनि पूर्वी क्षेत्रमा भएको भीषण वर्षाले थ्रुपै जलविद्युत् आयोजनामा असर परेको थियो । तत्कालीन समयमा १० अर्ब रुपैयाँ बराबरको क्षतिको अनुमान गरिएको थियो यो वर्ष पनि लगातारको दुई दिनको वर्षाले करिब पाँच अर्ब रुपैयाँको क्षति पुगेको प्रारम्भिक अनुमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको छ ।

अघिल्लो हप्ताको अतिवृष्टि अहिलेसम्म ११ सय मेगावाट क्षमताका डेढ दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको अनुमान गरिएको छ । जलविद्युत्, सिँचाइ र नदी नियन्त्रणका क्षेत्रमा चार अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

अधिक वर्षाका कारण परम्परागत रुपमा बनेका संरचनाहरु जलविद्युत्, खानेपानी, सिँचाइलगायतका संरचनामा ठूलो क्षति भएको अवस्था छ । यसबाट क्षति मात्रै होइन, ठूलो लगानी जोखिममा परेको छ । त्यसैले अब हामीले संरचना निर्माणमा पनि सचेत हुनु आवश्यक छ । जलवायु उत्थान्शील विकासमा जोड दिने र नीति निर्माणको तहमा पनि यस विषयलाई ध्यान दिनु आवश्यक छ ।

विश्वका ठूला सहर पनि नदी किनारमै छन् । हामीले बाहिरका केही अनुभवलाई लिएर सुधार गर्नुपर्ने विषयहरु के छन् ?
यसमा मुख्य गरी दुईवटा कुरा गर्न सकिन्छ । एउटा जलवायु परिवर्तनजन्य विषय चरम मौसमी घटनामा निर्भर हुने विज्ञानले पुष्टि गरिसकेको छ । विश्वका केही राष्ट्रहरुले यसबाट पाठ सिकेर योजना बनाएको पाइन्छ । अब हामीले पनि सोहीअनुसार योजना बनाउनु आवश्यक छ ।

विश्वका धेरै देशले ठूलो बाढी आउनसक्ने स्थानमा भौतिक संरचना निर्माणमा कडा नियम बनाउन थालिसकेका छन् । हामीले पनि यस विषयमा ध्यान दिनुपर्ने देखिन्छ । अब बन्ने संरचना भविष्यमा आउनसक्ने ठूला बाढीलाई मध्यनजर गरेर जलवायु उत्थानशील संरचना बनाउनुपर्छ । अबका दिनमा नीति नियम बनाउँदा जलवायु परिवर्तनलाई मध्यनजर गरेर यसबाट भविष्यमा हुनसक्ने असरलाई पनि मध्यनजर गरेर काम गर्नुपर्ने हुन्छ ।

यसवर्ष नेपालमा सबैभन्दा धेरै चाँदनी दोधारामा वर्षा मापन गरिएको छ । उक्त स्थानमा २४ घण्टामा ६२४ मिलिमिटर वर्षा भएको छ । त्यसबाट करिब एक सय ५० करोड रुपैयाँको क्षति गरेको जानकारी आएको छ ।

अधिक वर्षाका कारण भएको क्षतिबाट हामीले पाठ सिक्नुपर्ने हुन्छ । यसलाई नीतिगत स्तरबाटै सुधार गर्नुपर्छ । विशेष गरी जलविद्युत् आयोजना र जलवायु परिवर्तनबाट हुने असरबाट जोगिनका लागि यो आवश्यक भइसकेको छ । अबको विकास जलवायु अनुकुलन हुनु आवश्यक छ ।

त्यसबाहेक मौसमी पूर्वानुमानबाट प्राप्त तथ्यांकहरुलाई अझ सुधार गर्दै जानुपर्ने देखिन्छ । मुख्य गरी मौसम सम्बन्धमा आएका सूचनाहरुलाई सही र जोखिममा भएका समूह र समुदायमै सूचना पु¥याउनु पर्छ । उनीहरु जोखिमपूर्ण क्षेत्रमा बसेका छन् भने त्यहाँबाट स्थानान्तरण गर्नु आवश्यक छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal