काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट भएको क्षतिको बीमा दाबी भुक्तानी छिटो गर्न बीमा कम्पनीलाई निर्देशन दिएका छन् । बीमा प्राधिकरणमा आयोजित निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँगको छलफलमा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
बाढी तथा पहिरोबाट भएको क्षतिको बीमा दाबीलाई सरलीकरण गर्ने र छिटो दाबी भुक्तानी गर्ने विषयमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीका सीईओहरुसँग छलफल गरेको थियो । बीमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने भ्रमलाई हटाउन पनि बीमा कम्पनीहरूले छिटो दाबी भुक्तानी गर्नु पर्ने उनको भनाइ थियो ।
अध्यक्ष सिलवालले हाल विशेष परिस्थिति भएकाले सामान्य अवस्थामा आवश्यक पर्ने दाबी भुक्तानी सम्बन्धी कागजातहरू मध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिश लगायतका कागजातहरू आवश्यक नपर्ने व्यवस्था मिलाइने, अन्य कागजातहरूको सूची समेत छोटो पारिने र बीमा सर्भेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिने पनि बताए । अध्यक्ष सिलवालले हालको विशेष परिस्थितिमा बीमा दाबी विस्तारै थपिँदै जानसक्ने र बाढी तथा पहिरोका कारण बीमालेख हराएको पनि हुनसक्नेतर्फ बीमा कम्पनीहरूले ध्यान दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्