काठमाडौं । सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो ।
कृषि तथा पशुपन्छ विकास मन्त्री रामनाथ अधिकारीले बजार अनुगमनको सुरुआत गर्दै गरेका हुन् । ‘सरकारका तर्फबाट खरिद भएर ल्याएपछि विभिन्न कारणले छ÷सात वर्षदेखि मोबाइल भ्यानहरु त्यत्तिकै थन्किएका रहेछन्, आजदेखि दसैँ, तिहारलाई लक्षित गरेर खाद्य गुण परीक्षणका लागि बजार अनुगमनमा निस्किएका छौँ,’ मन्त्री अधिकारीले भने । मन्त्री अधिकारीका अनुसार मर्मत गर्न बाँकी रहेका दुईवटा मोबाइल भ्यान पनि यथाशीघ्र मर्मत गरेर पूर्वपश्चिमबाट सञ्चालनमा ल्याइने जानकारी दिए ।
पछिल्लो समयमा खानपानका कारण अस्पतालमा बिरामी बढ्दै गएका सन्दर्भ उल्लेख गर्दै उनले उपभोक्ताले म्याद नाँघेका, असुरक्षित खाद्य वस्तु खान नपरोस् भनेर बजारमा रहेका खाद्य वस्तुको परीक्षण सुरु गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्