Skip to content
Prabhu

हनुमाननगर–राजविराज सडक जीर्ण

nabil

राजविराज । दसैं, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा जिल्लाको मुख्य सडकहरु मर्मत हुन सकेका छैनन्। हनुमाननगर– राजविराज सडक खण्ड जीर्ण हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

सदरमुकाम राजविराजदेखि पूर्वभारदहस्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिने उक्त सडकमा ठूल्ठूला खाल्डो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएको बस चालक बताउँछन् । मंसापुर भन्ने स्थानमा पाँच÷छ वर्षदेखि सडकमा ठूल्ठूला खाल्डो हुँदा पनि सडक विभागले सडक मर्मत नगरेको स्थानीय शैलेन्द्र सिंहले बताए ।

सडेपार र मंसापुरको बिचमा अवस्थित सडकमा रहेको खाल्डोका कारण सामान्य वर्षा हुँदा पनि पानी जमेर पोखरी बन्ने गर्छ । सप्तरीका प्रसिद्ध दुई शक्तिपीठ रहेकाले यही सडक भएर दसैँमा हजारौं भक्तजन यात्रा गर्ने गर्छन् ।

भारदहस्थित कङ्कालिनी मन्दिर र राजविराजदेखि ११ किलोमिटर दक्षिणमा अवस्थित छिन्नमस्ता भगवती मन्दिरमा दसैंमा भीड लाग्ने गर्छ । तर, यिनै मन्दिर पुग्ने सडकको अवस्था नाजुक हुँदा आवतजावतमा समस्या भएको सवारी चालक रमेन यादवले बताए।

उनले भने, ‘राजविराजदेखि हनुमाननरसम्मको १४ किलोमिटर सडक गुणस्तरहीन भएकाले पुरै भत्किएर जीर्ण छ । सडकमै पोखरी छिचोल्दै गाडी चलाउनुपर्ने बाध्यता छ । कतिखेर गाडी पल्टिन्छ टुङ्गो हुन्न ।’ खासगरी मोटरसाइकल, अटो, सिटी रिक्सालगायतका सवारीसाधन गुडाउन बढी जोखिम रहेको यात्रुहरु बताउँछन् । वर्षौंदेखि जीर्ण सडकका कारण धुलो उड्दा स्वास्थ्यमासमेत असर गरेको स्थानीयवासीको गुनासो छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal