काठमाडौं । निर्जीवन लघु बीमकले चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्म ११ करोड रुपैयाँ बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार दुई महिनामा ४ वटा निर्जीवन लघु बीमा कम्पनीहरुले ४२ हजार ४४६ बीमालेख जारी गरेर ११ करोड ३ लाख रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेका हुन् ।
चालु आर्थिक वर्षको २ महिनामा सबैभन्दा बढी व्यापार गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । यो कम्पनीले १२ हजार १८४ बीमालेख बिक्री गरेर ३ करोड १२ लाख रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै दोस्रो स्थानमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ । यो कम्पनीले ९ हजार ४३० बीमालेख बिक्री गरेर २ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
चालु आर्थिक वर्षको भदौ महिनासम्म ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९ हजार ३०५ बीमालेख बिक्री गरेर २ करोड ५८ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ११ हजार ५२७ बीमालेख बिक्री गरेर २ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्