जुम्ला । जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि यहाँका नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि पाँच केजीको नुन खरिद गर्न रु. एक हजार खर्चेर सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।
तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँका स्थानीय तहलाई वडाबाट नुन वितरण गर्न वडामा दर्ता भएका घरलगतअनुसार प्रतिव्यक्ति पाँच केजीका दरले आपूर्ति गरेको बताए । ‘यो दसैँमा नुनको अभाव हुने छैन,’ उनले भने ।
साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख नगेन्द्र थापाले पनि सबै पालिकामा नुन आपूर्ति भएको जानकारी दिँदै सदरमुकाम खलङ्गाको गोदाममा एक हजार एक सय ६० क्विन्टल नुन मौज्दात रहेको बताए । चालु आर्थिक वर्षमा नराकोट र गोरुचौर डिपोमा एक–एक हजार क्विन्टल र सदरमुकाम खलङ्गाको डिपोमा चार हजार क्विन्टल नुनको कोटा तोकिएको प्रमुख थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्