काठमाडौं । सरकारले विमान परिचालकरपरिचालिकाको ४५ को उमेरहदलाई ५० वर्ष पुर्यार्उने भएको छ । ४५ वर्षे प्रावधान हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रु सदस्यसँग शनिबार छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमलाई उमेरहदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग मन्त्री पाण्डेले क्याबिन क्रु मेम्बरले आफूहरूमाथि भेदभाव भएको, विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, मागको सुनुवाइ नभएको विषय राखेका र सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए । उनले अदालतमा रहेको मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने निष्कर्ष बैठकबाट निकालिएको जानकारी गराए ।
हाल औसत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानीलाई हेर्दा पनि उमेरहद ५० वर्ष पुर्याउँदा फाइदा हुने उनले बताए । ‘४५ को उमेरहदलाई ५० मा पुर्याउने निष्कर्षमा पुगेका छौँ,’ उनले भने, ‘त्यो गर्नुस् भनेर निगमको व्यवस्थापनलाई भनेका छौँ । सबै प्रकारका आन्दोलनका कार्यक्रमहरू स्थगित गर्ने र काममा फर्किने प्रतिबद्धता जनाउनुभएको छ ।’
क्याबिन क्रुको हड्तालका कारण शुक्रबार राति साढे ११ बजेको निगमको काठमाडौं–दुबई उडान रद्द भएको थियो । ३२८ यात्रु अलपत्र परेका थिए ।
निगममा कार्यरत परिचालकरपरिचालिकाको संस्था नेपाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भन्दै ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएको थियो । उक्त मुद्दाको किनारा लागेको छैन ।
निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि यही असोज १६ गतेयता उनीहरू पुनः आन्दोलनमा थिए ।
प्रतिक्रिया दिनुहोस्