काठमाडौं । अहिले कुनै रोग लागेमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले पनि सहजता पाउँछन् । सरकारले स्वास्थ्यबीमामा आवद्ध भएका नागरिकहरुका लागि आर्थिक भार कम गर्ने गरी कार्यक्रम लागू गरेको छ । जसले आर्थिक रूपमा विपन्नहरुलाई केही भए पनि राहत मिलेको छ । तर, स्वास्थ्यबीमा कार्यक्रम आर्थिक भार कम गरे पनि त्यो सेवा लिनका लागि भने निकै झनझटीलो छ ।
यति सम्मकी स्वास्थ्यबीमामा आवद्ध भएका नागरिकले आफूले छानेको अस्पतालमा गएर उपचार गर्नुपर्छ भने त्यहाँ उपचार नहुने रोगका लागि मात्रै त्यहाँबाट रिफर पाउँछन् । कुनै एक जना विद्यार्थीको सुदूरपश्चिमको बैतडी वा कोशीको ताप्लेजुमा रहेको परिवारले स्वास्थ्यबीमा कार्यक्रमअन्तर्गत बीमा गरेको छ र उ काठमाडौंमा बिरामी भयो भने उसले काठमाडौंका अस्पतालमा त्यो सेवा उपभोग गर्न पाउँदैन ।
उसँग बीमा कार्ड पनि हुन्छ । तर, परिवाले स्वास्थ्यबीमामा आवद्ध हुँदा सेवा लिने अस्पतालको नाममा स्थानीय अस्पताल राखिन्छ । त्यो स्वास्थ्य बीमाका स्थानीय दर्ता सहयोगीले गरिदिने कुरा हो ।
गाउँमा बाबु–आमाले स्वास्थ्य बीमा गरेपछि छोराछोरीले पनि सेवा पाउँछन् भनेर बीमा त गरिन्छ । तर, सेवा लिनका लागि काठमाडौंमा बिरामी भइयो भने पनि सम्बन्धित जिल्ला वा स्थानीय अस्पताल जहाँ पहिलो सेवा लिने अस्पतालको रुपमा लेखिएको अस्पतालबाट रिफर ल्याउनुपर्छ ।
काठमाडौंमा बिरामी भएको व्यक्तिले उपचारका लागि त्यहाँबाट रिफर ल्याउन सकेनन् भने उसले स्वास्थ्य बीमाले दिने सेवा लिन पाउँदैन । बिरामी हुने कुरा भनेको योजना बनाएर हुने कुरा होइन । यो आकश्मिक रूपमा हुने कुरा हो । तर, यो विषयमा सरकारले भने खासै ध्यान दिएको छैन । बीमा गरेको कार्ड भएको व्यक्तिले स्वास्थ्यबीमा लागु भएका जुनसुकै अस्पतालबाट सेवा लिन पाउने व्यवस्था गरिदिएको खण्डमा यसको प्रभावकारिता अझ बढ्ने थियो ।
आम नागरिलाई सरकारले स्वास्थ्य बीमाको दायरमा लाउनले योजानका साथ ल्याइएको यो कार्यक्रमको यस्ता जटिलताले आमनागरिकमा अलोकप्रिय बन्दै गएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सहभागी हुनेको संख्या ८१ लाख रहेको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । अहिले प्रत्यक वडामा नै दर्ता सहयोगि राखेर नागरिकलाई स्वास्थ्य बीमा गराउने काम भइरहेको छ ।
स्वास्थ्यबीमाले आम नागरिकको खर्चलाई कम त गरेको छ । तर, यो निकै झन्झटिलो र दुःख दिने खालको छ । कुनै पनि बिरामीले उपचारका लागि आफूले पहिलो पटक रोजेको अस्पतालबाट अर्को अस्पतालमा जाँदा रिफर अनिवार्य गरिएको छ । गाउँमा परिवारले बीमा गरेर कार्ड काठमाडौं पठाइदिएका बीमितले भने काठमाडौंका कुनै पनि अस्पतालमा त्यो सेवा उपभोग गर्न पाउँदैनन् ।
उनीहरुले गाउँको अस्पतालमा गएर रिफेर ल्याउनै पर्छ । त्यो पनि आफू स्वयम् उपस्थित भएर । अझ त्यहाँ उपचार हुन नसक्ने रोग भएमा मात्रै बिरामीलाई रिफर दिन्छ । तर, काठमाडौंमा अध्ययनका लागि बसेको बिरामी गाउँ गएर रिफर ल्याएर सेवा उपभोग गर्दा समय र खर्च पनि बढ्ने भएकाले बीमा गराएको भए पनि पूरै पैसा तिरेर सेवा लिनुपर्ने बाध्यतामा रहेका छन् ।
काठमाडौंका अस्पतालले बनाइदिएको रेफरलाई परिवारले फोटो खिचेर वा इमेल गरेर पठाएर यता प्रिन्ट गरेको अवस्थामा पनि मान्दैनन् । कति पटक त रिफर ल्याएको बिरामीलाई नाम लेख्दा स्पेलिङ मिस्टेक भएको भन्दै पनि फर्काउने गरेका छन् । अर्कोतर्फ कुनै व्यक्तिले काठमाडौंको अस्पताबाट सेवा लिने गरी बीमा गरेको छ र उ मनाङ वा डोल्पा घुम्न गएको अवस्थामा बिरामी भयो भने पनि उसले त्यहाँ स्वास्थ्य बीमाको सुविधा उपभोग गर्न पाउँदैन ।
किन भने उसले बीमा काठमाडौंमा गरेको छ । अनि अर्को कुरा काठमाडौंबाट डोल्पा र मुस्ताङ वा मनाङका अस्पतामा रिफर गर्न पनि सकिदैन । किन भने काठमाडौंको अस्पतालमा हुन नसक्ने उपचार मनाङ वा मुस्ताङका अस्पतालमा हुदैन । अस्पतालहरुले आफ्नोमा उपचार नहुने अवस्थामा मात्रै रिफर गर्ने गरेका छन् ।
तर, राज्यले बीमा गराएका व्यक्तिहरुको कार्ड हेर्ने र ब्यालेन्स छ भने त्यसलाई सहज रूपमा स्वास्थ्य बीमामा आबद्ध भएका अस्पतालबाट सेवा लिन पाउने व्यवस्था गर्न सकेको खण्डमा यो सेवा थप सहज हुने थियो ।
अर्को तर्फ गाउँमा रहेका आफन्तले रेफर बनाएर पठाइदिनका लागि पनि सम्भव नहुने । केही गरी कोही चिनेको मानिस छ भने उसले बनाएर पठाउँदा टाढाबाट आउन समय लाग्ने हुन्छ । जबकी बीमा रिफर गरेको कागज नाम दर्ता गराउने बेलामा नै देखाउनु पर्ने हुन्छ । रेफर आउनु भन्दा पहिला उपचार गर्दै गरेर पछि आएको रेफरलाई पनि अस्पतालले मान्यता दिएको खण्डमा पनि बीमले लाभ लिन सक्ने थिए ।
स्वास्थ्य बीमा बोर्डका सुचना अधिकारी मल्लका अनुसार बीमा गराएका व्यक्तिले अर्को अस्पतालमा जानु परेमा त्यहाँ उपचार नहुने भए मात्रै रिफर गर्न मिल्छ । तर, काठमाडौंमा बस्ने व्यक्तिले बतडीमा बीमा गरेको छ । अब कसरी बीमा सेवा लिने ? यो विषयमा सरोकारवाला निकायले ध्यान दिनु पर्ने आवश्यकता छ । यसरी हेर्दा स्वास्थ्य बीमा आम नागरिक लागि भन्दा पनि पहुँचवालाकै पहुँचमा रहेको देखिन्छ ।
सूचना अधिकारी मल्लले जटिल रोगको लागि भने रेफर नचाहिने बताए । तर, बीमतिलाई कसरी थाहा हुन्छ कि यो जटिल रोग हो र यो होइन भनेर ? बिरामीत केही असहज भएको खण्डमा उपचार गर्नका लागि अस्पताल जाने हो । तर, जटिल र सामान्य छुट्याउने बेलासम्म नै उसको पैसा खर्च भइसकेको हुन्छ ।
जबकी उसले बीमा गरेको रकम आर्थिक वर्षको अन्तिममा फ्रिज भएर जान्छ । राज्यले दिएको १ लाखको सुविधाबाट उसले २० हजार पनि खर्च गर्न पाउँदैन तर झनझटिलो प्रक्रियाले गर्दा उसले स्वास्थ्य बीमा गराएको भए पनि पैसा खर्च गरिरहनु परेको छ । यसर्थ यो प्रक्रियालाई सहज र सजिलो बनाउनका लागि स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायले ध्यान दिनु पर्ने आवश्यकता छ ।
स्वास्थ्य बीमा नियमावली २०७५ को अनुसूची १ मा पाँच जनाको परिवारसम्मका लागि ३ हजार ५०० रुपैयाँ बीमा शुल्क लिने भनि उल्लेख गरिएको छ । यदि त्यसमा थप सदस्य थप्नु पर्ने अवस्थामा प्रतिव्यक्ति ७०० रुपैयाँका दरले शुल्क लाग्ने जनाइएको छ ।
नियमावलीको नियम ७ मा सेवा प्रदायक रोज्नु पर्ने व्यवस्था गरिएको छ । जसमा बीमितले सेवा प्रदायकहरुमध्ये कुन सेवा प्रदायकबाट उपचार सेवा लिने हो सो कुरा कार्यक्रमा आबद्ध हुँदा नै रोज्नुपर्छ ।
आफूले रोजेको प्रथम सेवा बिन्दुको रूपमा रहेको सेवा प्रदायकबाट सेवा लिनु पर्ने उल्लेख गरिएको छ । यदि उक्त सेवा प्रदायकबाट बिमितिले आवश्यक सेवा प्राप्त गर्न नसकेको त्यहाँबाट रेफर पुर्जाको आधारमा अन्य सेवा प्रदायकबाट सेवा लिन सक्ने छ भन्ने उल्लेख गरिएको छ ।
यो नियमको उप नियम ४ मा आवस्मिक अवस्थामा बीमितले जुनसुकै सेवा प्रदायकबाट सेवा लिन सक्नेछ भन्ने उल्लेख छ । तर, बिरामी हुने भनेको आवस्मीक रुपमा नै हो । योजना बनाएर कोही पनि बिरामी हुँदैन ।
प्रतिक्रिया दिनुहोस्