Skip to content
Prabhu

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

nabil

मुग्लिन । वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैंक कुरिनटारमा आइतबार बिहानै आइपुगेका चितवन इच्छाकामना गाउँपालिका–१ हात्तीवाङकी सन्चरीमाया चेपाङले दिउँसो भत्ता वापतको रकम प्राप्त गरे । भत्ता रकम लिन चार घण्टा बढी लाइनमा बस्नुपरेको उनको गुनासो छ । घण्टौँ लाइनमा बसेर भत्ता रकम हातमा पर्दा जति खुसी हुनुभयो, त्यत्ति नै थकित पनि देखिन्थे । सञ्चरीमायामात्र होइन इच्छाकामना –३ धुषाकी छोटीमाया चेपाङले पनि चार घण्टा कुरेर भत्ता लिए ।

कुरिनटारमै रहेको अर्को प्रभु बैंकमा पनि आइतबार उस्तै भीड थियो । वृद्धवृद्धा भत्ता रकम कतिखेर झिक्न पाइन्छ भनेर कुरेर बसिरहेएका थिए। बिहानैदेखि आएर कागजपत्र बुझाएका इच्छाकामना २ फुर्केडाँडाका बलबहादुर चेपाङले दिउँसो भत्ता रकम लिन पाएन । बैंकमा सामाजिक सुरक्षा भत्ता लिने र अन्य सेवाग्राहीको भीड थियो ।

माछापुच्छ्रे बैंकमा भत्ता लिन आउनेलाई सहजीकरणका लागि सहयोग गर्न आएका इच्छाकामना– १ हात्तीवाङका तिलक गिरीले भत्ता लिन वृद्धवृद्धा दिनभर लाइनमा बस्नुपरेको बताए । विकट स्थानबाट आएका वृद्धवृद्धालाई छिटोछरितो सहज रूपमा भत्ता लिने वातावरण सृजना गर्नुपर्ने उनको भनाइ छ । सकेसम्म वडामै भत्ता वितरण गर्नुपर्ने माग गरे।

इच्छाकामना वडा नं १ र २ बाट कुरिनटारमा रहेको बैंकसम्म गाडी रिजर्भ गरेर भत्ता लिन आएको उनले बताए । आवतजावत गर्न जनही ७ सय गाडी भाडामा मात्र खर्च हुने उनको भनाइ छ । उनले भने, ‘झण्डै तीन घण्टाको बाटो गाडी रिजर्भ गरेर यहाँ भत्ता रकम लिन वृद्धवृद्धा आएका छन्, भाडामात्र सात सय रुपैयाँ लाग्छ, वडामै भत्ता वितरण गरेको भए उक्त रकम बच्ने र यहाँ आएर यसरी लाइन बस्नुपर्ने थिएन ।’

इच्छाकामना– १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले वडामै भत्ता वितरणका लागि बैंकसँग आग्रह गरे पनि बैंकले सुरक्षा र कर्मचारीको अभाव जनाउँदै उक्त सेवा दिन इन्कार गरेको बताए । उनले भने, ‘मैले गत वर्ष नै बैंकलाई वडामै भत्ता वितरणका लागि आग्रह गरेको थिएँ, तर बैंकले कर्मचारी अभाव र नगद बोकेर जान सुरक्षित नहुने भन्दै मानेन ।’ अशक्तहरूका लागि हकवालाले बैंकमा गएर भत्ता लिन सक्ने व्यवस्था गरेको उनले बताए । आगामी दिनमा कसरी हुन्छ भत्ता वितरणलाई थप सहज बनाउन बैंकसँग छलफल गर्ने बताए।

माछापुच्छ्रे बैंक कुरिनटार शाखाका प्रबन्धक प्रकाश अधिकारीले सकेसम्म सामाजिक सुरक्षा भत्ता वितरणमा सहज बनाएको दाबी गरे । उनले वडाको सिफारिसमा अशक्त वृद्धवृद्धालाई हकवालामार्फत भत्ता उपलब्ध गराइरहेको बताए । उनले भने, ‘हामीले बैंकसम्म आउन नसक्नेलाई वडाको सिफारिसमा हकवालाले भत्ता रकम बुझ्न पाउने व्यवस्था गरेका छौँ, दसैंका बेला भएकाले सबै वृद्धवृद्धा एकैपटक आउँदा केही समस्या भएको हो ।’ यो समयमा अन्य सेवाग्राहीको समेत भीड लाग्ने गरेकाले केही असहज भएको उनको भनाइ छ ।

बैंकमा कर्मचारी अभावका कारण वडामै पुगेर भत्ता वितरण गर्न नसकिएको बैंकका प्रबन्धक अधिकारीले बताए । गाउँपालिकाले ग्लोबल आइएमई, प्रभु र माछापुच्छ्रे बैंकमार्फत भत्ता वितरण गर्दै आइरहेको छ । इच्छाकामनाको माथिल्लो भेगका ज्येष्ठ नागरिकले वृद्धभत्ता प्राप्त गर्न पनि सास्ती व्यहोर्दै आइरहेएका छन् । सकेसम्म टोलटोलमै पुगेर भत्ता वितरण गर्नुपर्ने त्यत्ति पनि नभए वडास्तरबाटै वितरण गर्नुपर्ने यहाँका ज्येष्ठ नागरिकहरूको माग छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal