Skip to content
Prabhu

काठमाडौंबाट भैरहवा उड्न निगमको न्यारोबडीलाई फूलपातीका दिन अनुमति

nabil

काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ ।

निगमको न्यारोबडी विमानलाई २४ गते फूलपातीका दिन उडान अनुमति जारी गरिएको प्राधिकरणका प्रवक्ता रमेश पौडेलले बताए । ‘यो स्पेशल चार्टर उडान हुनेछ । काठमाडौंबाट ११ बजे उड्ने विमान भैरहवाबाट साढे १२ बजे यात्रु ल्याएर काठमाडौं फर्किने तालिका स्विकृत भएको छ’, उनले भने ।

न्यारोबडीले आन्तरिक उडानमा यात्रुका लागि पहिलोपटक उडान अनुमति पाएको हो । यसअघि हिमालय एयरलायन्सको न्यारोबडीले काठमाडौं–पोखरा–काठमाडौंमा यात्रु नराखेर टेस्ट फ्लाइट मात्रै गरेको थियो । त्यस्तै निगमको न्यारोबडी र वाइडबडीले भैरहवा–काठमाडौं टेस्ट फ्लाइट र अन्तर्राष्ट्रिय उडान पनि गरिसकेका छन् ।

असोज ११–१२ गते को भारी वर्षाका कारण भएको बाढी पहिरोले सबै जसो राजमार्ग अवरोध गरेका कारण नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका न्यारोबडी विमान पठाउन सरकारले पहल गरेको पर्यटन राज्यमन्त्री अरुण चौधरीले बताए ।

‘विपद्का बेला बुद्ध, यती र श्री एयरलायन्ससँग भएका दुई दर्जन ७२ सिट हाराहारीका जहाजमा यात्रुले सजिलै टिकट नपाउने, पाइहाले पनि अधिकतम मूल्यको टिकट भएकाले हामीले विराटनगर र धनगढी पनि दुवै वायुसेवा कम्पनीका न्यारोबडी जहाज पठाउन मन्त्रालयकातर्फबाट पहल गरेका हौं,’ राज्यमन्त्री चौधरीले भने, ‘नेपाल वायुसेवा निगमले अनुमति लिइसकेको छ ।’ निगमसँगै हिमालय एयरलाइन्सले पनि अनुमति पाए काठमाडौंबाट भैरहवा र पोखरामा उडान गर्ने भएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal