Skip to content
Prabhu

झ्याप्ले खोलाको पहिरो छल्न नागढुंगा–नौबिसे सुरुङमार्ग खुला गर्न सकिँदैन ?

nabil

काठमाडौं । असोज ११ र १२ गते परेको भीषण वर्षासँगै आएको बाढी र पहिरोले अर्बौँको क्षति भयो । क्षतिको पूर्ण विवरण अहिलेसम्म आइसकेको छैन । दसैँको मुखैमा परेको भारी वर्षाले देशका सबैजसो सडकखण्डहरु बाढी र पहिरोको चपेटामा परे । जसले गर्दा अहिले पनि सहज रूपमा उपत्यका बाहिर जाने यात्रुले यात्रा गर्न पाएका छैनन् । काठमाडौंको लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरो जाँदा सडक अवरुद्ध भयो । झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३५ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ ।

अर्कोतर्फ पूर्वी नेपाललाई जोड्ने मुख्य लाइफलानका रूपमा रहेको बीपी राजमार्गमा पनि ठूलो क्षति पुगेको छ । बाढीले सडकको केही भाग नै बगाएको अवस्थामा दसैँभन्दा अघि यो सडक सञ्चालन गर्न सकिने अवस्था नै नरहेको सरकारले जनाएको छ । पूर्व जानका लागि दोलालघाट हुँदै जाने वैकल्पिक रुटको खोजी भइरहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

अहिले सबैतिर चासोका रूपमा विपद्को समयमा नौबिसे–नागढुंगा सुरुङमार्ग खुला गर्नुपर्ने आवाज पनि उठेको छ । यो सुरुङ मार्गमा झ्याप्ले खोलमा पहिरोले बाटो रोकिँदा अत्यावश्यक सवारीलाई आउजाउ गर्न दिएको पनि थियो । त्यसैलाई आधार मानेर आम सर्वसाधारणले अहिले सुरुङमार्ग खुला गरेर झ्याप्ले खोलाको पहिरोलाई छल्नुपर्ने आवाज पनि उठिरहेको छ ।

सुरुङमार्ग पूर्णरूपमा सञ्चालन भने भएको छैन । निकै महत्वपूर्ण मार्गका रूपमा रहेको यो सुरुङमार्ग अहिले अत्यावश्यक एम्बुलेन्सलगायतका सवारीबाहेक अन्य सवारीका लागि खुला गर्न सकिने अवस्था नरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । उनले घटस्थापनका दिन असोज १७ गते मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । ‘अहिले अत्यावश्यक सवारी, एम्बुलेन्स लगायतका सवारीका लागि सुरुङमार्ग खुला गरिएको भए पनि सबै सवारीका लागि खुला गर्न सकिँदैन,’ उलने भने । झ्याप्लेखोलाको विकल्पका रुपमा सीतापाइला–धार्के र टोखा–नोबिसे सडक पनि विकल्पका रूपमा रहेको छ ।

अहिले सुरुङ मार्गमा आवश्यक पर्ने लाइटिङ र भेन्टिलेसनको व्यवस्था नभएकाले अक्सीजनको अभावले अर्को समस्या आउन सक्ने सचिव शर्माको भनाइ छ । सुरुङमार्गक करिब ३ किलोमिटर छ । यो सुरुङ मार्ग पार गर्नका लागि सवारीलाई १५ देखि ३० मिनेट समय लाग्ने बताइएको छ । अहिले आवश्यक सबै पूर्वाधार तयार नभएको अवस्थामा सुरुङमार्ग खुल्ला गर्दा अर्को विपत आउन सक्ने उनले बताए ।

‘अहिले सुरुङमार्गमा फायर स्टिङ्ग्वीसर, अक्सिजनका लागि आवश्यक भेन्टिलेसन, आइट सबै पयाप्त छैन । सवारीको चाप बढ्दा भित्र कुनै समस्या आयो भने रेक्क्यु गर्न पनि समस्या हुन्छ । यो अवस्थामा पूर्ण रुपमा सुरुङ मार्ग खुला गर्न सकिँदैन,’ सचिव शर्माले भने । अहिले सरकार सुरुङ मार्ग भन्दा पनि अन्य वैकल्पिक सडक मर्मत गरेर समस्या समाधान गर्नेतर्फ लागेको सचिव शर्माले बताए । दसैँभन्दा अघि बीपी राजमार्गको भत्केको सडक बाहेक अन्य अधिकांश सडक सञ्चालन हुने उनको भनाइ छ । अहिलेसम्म बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २४४ जनाको मृत्यु भएको छ । बीमा कम्पनीहरुमा पनि प्रारम्भिक तथ्यांक अनुसार ७ अर्बभन्दा माथिको दाबी पर्ने अनुमान गरिएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal