Skip to content
Prabhu

नेपालको विपद् प्रतिकार्यका लागि विश्व बैंकबाट २० अर्ब ऋण स्वीकृत

nabil

काठमाडौं । विश्व बैंकले नेपालको विपद् प्रतिकार्यका लागि २० अर्बभन्दा बढीको ऋण स्वीकृत गरेको छ । वाशिङ्टन डीसीस्थित बहुपक्षीय ऋणदाता संस्था विश्व बैंकले नेपाललाई विपद् प्रतिरोध तथा यससम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर अर्थात् २० अर्ब १ करोड ७५ लाख रुपैयाँ ऋण स्वीकृत गरेको हो ।

विश्व बैंकका कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारलाई प्राकृतिक वा जलवायुजन्य विपद् तथा आपत्कालको अवस्थामा उपयोग गर्न यो वित्तीय सहयोग स्वीकृत गरेको बताए । नेपाल विपद् प्रतिरोधात्मक विकास नीति ऋण नामक यस कार्यक्रमले विपद् प्रतिरोधात्मक क्षमता बढाउन नीतिगत सुधारलाई सहयोग गर्ने र प्रभावकारी आपत्कालीन प्रतिकार्यका लागि संस्थागत संयन्त्रलाई सुदृढ बनाउने उद्देश्य राखेको छ ।

यस सहयोगले पूर्वसूचना प्रणालीलाई सुधार गर्ने, जोखिम न्यूनीकरणका लागि नीति, संस्था र नियामक संरचना निर्माण गर्ने र सार्वजनिक स्वास्थ्य आपत्कालीन तयारीलाई थप मजबुत पार्न मद्दत गर्ने जनाइएको छ । साथै, यस सहयोगले विपद्पश्चात् तत्काल वित्तीय साधन उपलब्ध गराएर नेपाललाई विपद् प्रतिकार्य र पुनःस्थापना कार्यमा सहयोग पुर्याउनेछ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका क्षेत्रीय निर्देशक डेविड सिस्लेनले हालैका बाढीले देखाए जस्तै, नेपालले जलवायुजन्य विपद् र स्वास्थ्य आपत्कालको बहुआयामिक संकटको सामना गरिरहेको बताए । यसले नेपाललाई गम्भीर वित्तीय झट्काको जोखिममा राखेको भन्दै विश्व बैंकको यस कार्यक्रमले यी जोखिमको सामना गर्न नेपाल सरकारका सुधारलाई सहयोग गर्ने र विपद् वा सार्वजनिक स्वास्थ्य आपत्कालपछि तत्काल वित्तीय सहयोग उपलब्ध हुने उनले बताए ।

विश्व बैंकको यस वित्तीय साधनले सरकारलाई आपत्कालीन अवस्थामा चाँडो काम अघि बढाउन सहयोग गर्नेछ। यसले अन्य विकास कार्यक्रमबाट रकम कटौती गनुपर्ने बाध्यता पनि हटाउँछ ।

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal