दसैंनजिक आइरहेको थियो, यसपालि हाम्रो परिवारले पाल्पाको हाम्रो पुख्र्यौली गाउँ सिरुखर्कमा दसैं मनाउने निर्णय गर्यौं । धेरै वर्षदेखि लामो समय त्यहाँ नबिताएकाले आफन्तहरू, पुराना साथीहरू र शान्त गाउँको वातावरणसँग पुनः भेट गर्ने विचारले हामी सबै उत्साहित थियौं । यस यात्राबाट हामीले गाउँको प्राकृतिक सुन्दरताको अवलोकन गर्नुका साथै, ऐतिहासिक स्थलहरू र स्थानीय सांस्कृतिक सम्पदामा पनि रमाइलो गर्ने योजना बनाएका थियौ ।
यात्रा सुरुः काठमाडौंदेखि पोखरा
हाम्रो यात्रा बिहानै सबेरै काठमाडौंबाट सुरु भयो । जानुपर्ने बाटो लामो थियो, पहाडहरू, उपत्यकाहरू, र नदीहरू हुँदै घुमाउरो बाटो, प्रत्येक मोडले नयाँ साहसिक अनुभवे गराइरहेको थियो । काठमाडौंदेखि पोखरासम्मको यात्रा नौलो नभए पनी चुनौतीपूर्ण थियो किनभने केही भागहरू अत्यन्तै जोखिमपूर्ण थिए । विशेष गरी मुग्लिन नजिकका खण्डहरू निकै साँघुरा र चट्टानको किनारमा झुन्डिएका थिए र पहिरोको जोखिम अझै बाँकी थियो । भारी ट्रकहरू र बसहरूको भिडले यात्रा कठिन बनायो । यद्यपि, बाटोभरिका हरियाली बारी, नदीहरू, र वरिपरिका पहाडहरूको मनमोहक दृश्यले नेपालको ग्रामीण
भेगलाई प्रतिबिम्भित गरिरहेको थियो ।
पोखरा पुग्दा हामीले लामो सास फेर्ने मौका पायौं । फेवातालको शान्त पानीमा अन्नपूर्ण हिमशृंखलाको प्रतिबिम्ब हेर्दा हाम्रो थकान केही हदसम्म हरायो, अनि अगाडिको यात्राका लागि हामी फेरि तयार भयौं । पोखराबाट स्याङ्जासम्मको रमणीय यात्रा हाम्रो अर्को यात्रा पोखराबाट स्याङ्जासम्मको थियो, र यो यात्रा अझ रमाइलो र आकर्षक थियो । बाटो अझै पनि घुमाउरो भए पनि छिचोल्न सजिलो थियो, र दृश्यहरू अझ मनमोहक ।
पहाडका टारहरूमा धान र तरकारीका हरिया बालीहरू टल्किरहेका थिए र साना गाउँहरू दसैंको तयारीमा झुमिरहेका थिए । आँगनमा मकै सुकाउँदै गरेका महिलाहरू र चंगा उडाइरहेका बालबालिकाहरू देख्दा गाउँको रमाइलो जीवन झल्कन्थ्यो । स्याङ्जा पार गर्दा, हरिया पहाडहरूको बीचमा गाउँको चिनारीले परिचित क्षेत्रको सुगन्ध दियो । गाउँलेहरूको न्यानो मुस्कानले हामीलाई स्वागत गरिरहेको जस्तो लाग्यो र हामी सिरुखक पुग्न नजिकिएका थियौं भन्ने महसुस
गरायो ।
सिरुखर्कामा आगमनः रातको स्वागत
हामी सिरुखर्क पुग्दा रात परिसकेको थियो । हाम्रो पुख्यौली गाउँ शान्त र शीतल थियो, टाढा टाढासम्म बिजुलीका बत्तीहरू टल्किरहेका थिए । नजिकै
बगिरहेको बाझा खोलाको मन्द ध्वनि, भैरनाथको दर्शन र वातावरणको सुवासले दसैंको आगमनको संकेत दिइरहेको थियो । रात परे पनि, हाम्रा आफन्तहरू हाम्रो प्रतीक्षामा थिए । उनीहरूले हामीलाई न्यानो अँगालोले स्वागत गरे ।
यात्रा लामो भए पनि आफन्तहरूको साथले थकान पूरै हरायो । गाउँमा जीवनः कृषि, पर्व र परम्पराहरू सिरुखर्कमा बिताएका दिनहरू गाउँको सरल जीवन र दसैंको परम्पर र रमझमले भरिएका थिए । दसैं नजिकिँदै गर्दा, गाउँभरि चहलपहल थियो—परिवारहरू टीका समारोहको तयारीमा व्यस्त थिए, बालबालिका खेल्दै थिए, गाउँलेहरू सामूहिक भोज र मनोरन्जनको तयारी गर्दै थिए ।
सिरुखर्कका खेतबारीहरूमा धान पाकिसकेको थियो, र गाउँलेहरू दसैंपछि धान भित्राउन लागिपरेका थिए । विशेष गरी फर्सी र सुन्तलाको खेतीले हामी सबैको मन आनन्दित बन्यो । एक बिहान, म मेरा काका विष्णुबहादुर गोदारसँग गाउँका खेतहरू र जंगल हिँड्न निस्केँ ।
काका गाउँका हरेक कुनामा जानकार थिए, हामी बन पाले, सल्लेरी हुँदै नेदेनी पँधेरीतर्फ लाग्यौं । पँधेरीबाट तलको जलुकेको दृश्य साँच्चै मनमोहक थियो । हाम्रो पदयात्रा दुम्की आम्टारी र करङ गाइरोसम्म पुग्यो, जहाँ काकाले ‘कुलोको बाटो’ भनेर चिनिने पुरानो बाटो देखाउनुभयो । त्यो बाटो पुस्तौंदेखि गाउँलेहरूले प्रयोग गर्दै आएका थिए । हिँड्दा इतिहाससँग जोडिएको महसुस गरियो र हामीलाई गाउँको ऐतिहासिक महत्व थाहा भयो ।
बाझा खोलाः एक शीतल विश्राम
हाम्रो यात्राको अर्को अविस्मरणीय क्षण बाझा खोलामा बिताएको समय थियो । मेरो बाल्यकालमा बाझा खोलामा पौडी खेलेका क्षणहरू अझै सम्झनामा ताजा थिए, र मैले आफ्ना बालबालिकाहरूलाई पनि त्यो अनुभव दिन चाहन्थेँ । हामी एक दिउँसो बाझा खोलामा बितायौं, चिसो पानीमा पौडी खेल्दै र वरिपरिका
प्राकृतिक सुन्दरताको मजा लिँदै । खोलाका चट्टानहरूले भरिएका किनारा र हरियालीले वातावरणलाई आत्मसात गरायौं । बालबालिकाहरू पानीमा रमाउँदै थिए, र म नदी किनारमा बसेर पुराना यादहरू सम्झिरहेको थिएँ । खोलाको वरिपरि बिताएको समयले मलाई गाउँको सरल जीवनको झलक दियो, जहाँ प्रकृतिले हरेक कुरा प्रदान गर्छ । बतासे डाँडाः सम्झनलायक दृश्य हाम्रो अर्को अविस्मररिय यात्रा बतासे डाँडाको थियो । बतासे डाँडा एउटा हावाहुरी चल्ने डाँडो हो, जहाँबाट वरिपरि सुन्दर दृश्यहरू देख्न सकिन्छ । हामी सबेरै बिहान डाँडाको चुचुरामा पुगेर सूर्योदय हेर्ने योजनामा थियौं । डाँडो चढ्न गाह्रो भए पनि रमाइलो थियो, र चिसो हावाले यात्रा अझ आनन्ददायक बनायो । जब हामी बतासे डाँडाको टुप्पोमा पुग्यौं, त्यहाँको चिसो हावाले हाम्रो थकान मेटायो । तलको पाल्पाली गाउँहरू हरिया बारीहरूसँग सुतेझै देखिन्थ्यो, र हामीले गाउँको सुन्दरतामा आफूलाई हरायौं ।
तानसेन बजारः पाल्पाको मुटु
हाम्रो पाल्पा यात्रालाई तानसेन बजारको भ्रमणले पूर्ण बनायो । तानसेन बजार श्रीनगर डाँडासँगै अवस्थित छ, र दसैंको तयारीमा बजार झनै चहलपहल थियो । हामीले त्यहाँका साना गल्लीहरूमा हिँडेर स्थानीय परिकारहरू स्वाद लियौं र केही उपहारहरू पनि किन्यौं ।
धेरै दिनको उत्सव र घुमफिरपछि पाल्पादेखि स्याङ्जा, पोखरा हुँदै काठमाडौँको यात्रामा फर्किंदा हाम्रो हृदयमा अविस्मरणीय अनुभवहरू भरिएका
थिए । यो दसैंको यात्रा, आफन्त र परम्परासँगै, हाम्रो पाल्पाको जरा, संस्कृति, र इतिहाससँग पुनः मिलनको यात्रा भएको थियो ।
पाल्पाका गोदार पेशाले चार्टर्ड एकाउन्टेन्ट्स हुन् ।
प्रतिक्रिया दिनुहोस्