Skip to content
Prabhu

‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’

nabil

चितवन । भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैँमा मासुचिउरा वितरण गरेका छन् । उनले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई प्रतिपरिवार दुई किलो मासु र दुई किलो चिउरा वितरण गरेका थिए । उनले सामाजिक सञ्जालमा आह्वान गरेर मासु किनेर खान नसक्ने विपन्नलाई आफूसँग सम्पर्क गरेका थिए। उनले भने, ‘वडाभरिका सबैलाई मैले आह्वान गरेर विपन्नलाई आफ्नै निजी खर्च गरेर मासु चिउरा बाँडे ।’

वडाध्यक्ष पन्तले वडा कार्यालयमा दानपेटिका राखेर सक्नेलाई सहयोग गर्न आह्वान समेत गर्दै आउनुभएको छ । त्यहाँ सङ्कलित रकमले पनि उनले विपन्नका लागि सहयोग गर्छन् ।

गत तीजमा उनले विभिन्न आमा समूह, टोल सुधार समितिहरुमार्फत तीजको दर खुवाउने र समूहलाई पोसाकको सारी वितरण गरेका थिए । उनले भने, ‘तीजमा तीन लाख रुपैयाँ खर्च भएको थियो । तीज मनाउन खर्च माग्ने कोही खाली हात फर्केनन् । वडाभित्रका टोल र आमा समूहलाई ६ सयभन्दा बढी पोसाकका साडी वितरण गरिसकेको छु ।’

तिहारमा उहाँको घरमा भैलो खेल्ने पालो पाउन मुस्किल हुने जनाइएको छ । पचास समूहभन्दा बढी भैलो खेल्न आउने गरेको उनको भनाइ छ । उनले भने, ‘गत वर्षको तिहारमा रु पाँच लाख बढी दान गरेको थिएँ ।’
गत भदौ १५ गते उनले आफ्नो जन्मदिनमा रु. १८ लाख ६० हजार बराबरको दान गरेका थिए। आफ्नै वडाको एक मन्दिरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसहितको उपस्थितिमा उनले विभिन्न सङ्घसंस्था र विद्यालयका विद्यार्थीलाई नगद एवं लत्ताकपडा वितरण गरे । उनले भने, ‘जन्मदिन, तीज, दसैँ, तिहारमा मात्रै होइन, बाह्रै महिना सहयोग माग्न आउनेहरुलाई रित्तो हात फर्काउँदिन ।’

जिल्लाका सङ्घसंस्थाहरु धेरैले एक पटक उहाँसँग सहयोग पाइसकेका छन् । विभिन्न क्लबहरुले आयोजना गर्ने खेलकुदमा उनको सहयोग हुने गर्दछ । जनप्रतिनिधि भएपछि यकिन हिसाब नभए पनि रु. एक करोडभन्दा बढी निजी रकम दान गरिसकेको उनले जानकारी दिए । उनले स्थानीय हिमालय स्कुलमा रु. २२ लाख, रोटरी करुणालय देवघाटमा रु. १५ लाख, गणेशधाम संरक्षणमा रु. १५ लाख सहयोग गर्नुभएको छ । यसका अतिरिक्त क्रिकेट रङ्गशाला, मठमन्दिरहरुमा पनि सहयोग गर्दै आएका छन् ।

उनले वडाध्यक्ष वापतको रकम सबै दानमा खर्च गर्नुहुन्छ । वर्षमा रु. पाँच लाख हाराहारी आउने र त्यो सबै चेकमार्फत सोझै सहयोग गर्ने गरेको उनको भनाइ छ । वडा कार्यालयमा राखिएको दानपेटिकामा वार्षिक उठ्ने ४ लाख हाराहारी विपन्न बिरामी, दाहासंस्कारका लागि आवश्यक दाउरा, किरिया खर्च, बाटो खर्चलगायत सहयोग गर्ने गरेको वडाध्यक्ष पन्तले जानकारी दिए।

बाग्लुङ नगरपालिका–७ मा जन्मिनुभएका पन्त विसं २०४८ बाट चितवनमा बसोबास गर्दै आएका छन् । उनले आफ्नो आम्दानी समाजसेवामा खर्च गर्दै आएका छन् । उनले भने, ‘दुःखी, असहाय र सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मलाई निकै आनन्द आउँछ ।’

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal